१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

अर्थमन्त्रीले शिलान्यास गरेको स्तम्भ स्थानीयले भत्काए

स्थानीयको मागलाई बेवास्ता गर्दै अर्थमन्त्री विष्णु पौडेलले रूपन्देहीको मौतिपुर औद्योगिक क्षेत्रको शिलान्यास गरेपछि सो क्षेत्र तनावग्रस्त बनेको छ। शिलान्यासका लागि आएका अर्थमन्त्रीको गाडीलाई लक्षित गरेर स्थानीयले ढुंगासमेत प्रहार गरेका छन्।  

औद्योगिक क्षेत्रको शिलान्यास सकेर अर्थमन्त्रीले कार्यक्रमलाई सम्बोधन गरिरहँदा स्थानीयले माइकका लागि जोडिएको बिजुलीको लाइन काटिदिए। माइक काटिएपछि पौडेल बीचमै सम्बोधन छाडेर हिँडेको स्थानीयले बताएका छन्। आक्रोशित स्थानीयले पौडेलको गाडीलाई लक्षित गरी ढुंगा प्रहार गरेपछि पौडेल समर्थक नेकपाका कार्यकर्ताले पनि स्थानीयलाई लक्षित गरी ढुंगा हाने। लगत्तै प्रहरीले लाठीचार्ज गरेपछि झडपमा १२ जना प्रदर्शनकारी घाइते भएका छन्। सशस्त्र र प्रहरीका केही जवान पनि सामान्य घाइते भएका छन्। कार्यक्रम स्थलमा ठूलो संख्यामा प्रहरी तैनाथ भए पनि स्थानीयलाई रोक्न हम्मेहम्मे परेको प्रहरीले बताएको छ। प्रहरीले रोक्दारोक्दै पनि स्थानीयले पौडेलले शिलान्यास गरेको स्तम्भ तोडफोड गरिदिएका छन्।  

वर्षौंदेखि जोतभोग गर्दै आएका स्थानीयको जग्गा उनीहरूलाई जानकारी नै नदिई औद्योगिक क्षेत्रको नाममा लालपुर्जा निकालेर योजना अगाडि बढाएपछि स्थानीय त्यसको विरोधमा थिए। स्थानीयले यसबारे पटकपटक सम्बन्धित निकायमा ज्ञापनपत्र बुझाई आफ्ना माग राखेका थिए। उनीहरूले बिहीबार पनि पत्रकार सम्मेलन गरेर वैकल्पिक व्यवस्था नगरी आयोजनाको शिलान्यास नगर्न आग्रह गर्दै जबरजस्ती गरे कार्यक्रम बिथोल्ने चेतावनी दिएका थिए।  

तर स्थानीयको माग सम्बोधन गर्नुको साटो स्वयं अर्थमन्त्री पौडेलले बिहीबारै तिलोत्तमामा आयोजित एक कार्यक्रममा शिलान्यास कार्यक्रम कसैले रोक्न नसक्ने भन्दै भाषण गरेका थिए। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका प्रमुखले पनि सुरक्षा घेरामा भए पनि शिलान्यास कार्यक्रम गर्ने भन्दै स्थानीयलाई विकासविरोधीको आरोप लगाएका थिए। त्यसपछि आक्रोशित स्थानीयले शिलान्यास कार्यक्रमका लागि बनाइएको मञ्च बिहीबार साँझ नै भत्काइदिए। त्यसपछि रातारात मञ्च बनाइएको थियो। बिहीबार साँझदेखि नै ठूलो संख्यामा सुरक्षा कर्मीले कार्यक्रम स्थललाई सुरक्षा घेरा हालेर राखेका थिए।

अर्थमन्त्री भएयता पौडेलले बालुवाटार जग्गा काण्डले धुमिलिएको आफ्नो छवि सुधार्न रूपन्देहीमा भएका नयाँ–पुराना सबैखाले विकासे आयोजनाको धमाधम शिलान्यास गर्दै हिँडेका छन्। उनी वर्षौेंखि अलपत्र परेका र पहिले नै शिलान्यास भइसकेका आयोजनाको समेत पुनः शिलान्यास गर्दै हिँडेका हुन्। सोही क्रममा स्थानीयले वर्षौंदेखि उठाउँदै आएका मागलाई व्यवस्था गर्दै जबरजस्ती मौतिपुर औद्योगिक क्षेत्र शिलान्यास गरेपछि स्थिति अप्रिय भएको हो।  

बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका र शुद्धोदन गाउँपालिका क्षेत्रभित्र पर्ने तिनाउ नदी उकास क्षेत्रसहितको करिब १ हजार बिघामा मौतिपुर औद्योगिक क्षेत्र निर्माणको आयोजना अघि बढेको छ। त्यसका लागि २०७३ सालमा ८ सय १३ बिघा जग्गा सरकारले अधिग्रहण गरेको थियो। त्यसमध्ये २ सय ५० बिघा जमिन स्थानीयले वर्षौंदेखि जोतभोग गर्दै आएको जग्गा हो। ३ हजार घर पनि पर्ने दाबी स्थानीयको छ। जग्गा अधिग्रहण गर्ने चर्चा चलेपछि स्थानीयले ४ वर्षअघि नै संघर्ष समिति बनाएर आफ्ना माग सम्बोधनका लागि दबाब दिँदै आएका थिए।  

२०७३ सालमै जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षीय छलफलमा स्थानीयको माग जायज ठहर गर्दै वैकल्पिक व्यवस्था नगरी काम अगाडि नबढाउने सहमति भएको थियो। सोही सहमतिको भर परेर किसानले औद्योगिक क्षेत्रको डिपिआर निर्माणमा सरकारलाई सघाए। तर चार वर्ष बित्दा पनि स्थानीयको माग सम्बोधन गरिएन। बरु ५० वर्षदेखि बसोबास गर्दै आएका स्थानीयलाई थाहै नदिई औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको नाममा जग्गाको लालपुर्जा निकालियो। पछिल्लो समय एआइए गर्दा पनि स्थानीयलाई थाहा दिइएन। स्थानीयले आफूहरूले ५० वर्षदेखि बस्दै आएको घर र जोतभोग गरेको खेत छोडेर बाँकी जग्गामा औद्योगिक क्षेत्र निर्माण गर्न या त आफ्नो घरखेत लिने हो भने वैकल्पिक व्यवस्था गरिनुपर्ने माग राख्दै आएका छन्।

सम्बन्धित पालिकाका जनप्रतिनिधिले पनि स्थानीयलाई वैकल्पिक व्यवस्था नगरी आयोजना अगाडि बढाउन नहुने बताएका छन्। त्यही जमिनमा दुई/तीन पुस्ता बिताएका स्थानीयलाई थाहै नदिई उनीहरूको जग्गाको लालपुर्जा औद्योगिक क्षेत्रको नाममा निकालेर सरकारले जनतामाथि घोर अन्याय गरेको शुद्धोदन गाउँपालिका–३ का वडाध्यक्ष शिव खड्काले बताए। ‘गरिब किसानका माग सम्बोधन गर्ने सरकारले हो, त्यसबाट पछि हट्न मिल्दैन,’ वडाध्यक्ष खड्काले भने।

प्रकाशित: २२ फाल्गुन २०७७ ०२:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App