coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

केपी ओलीले सिंगो देशलाई संकटमा पुर्‍याए : नेपाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगो देशलाई नै संकटमा पुर्‍याएकाले आन्दोलनमार्फत सही ट्र्याकमा ल्याउने दाबी गरेका छन्। उनले प्रधानमन्त्री ओली निरंकुश ढंगले तानाशाही तरिका अपनाएर श्री ३ महाराज जस्तै शासन सञ्चालन गर्न चाहेको बताए।

‘प्रधानमन्त्री ओलीले देशलाई संकटमा पुर्‍याएर श्री ३ महाराजजस्तै बन्न खोजे पनि त्यो युग सकिएको र श्री ५ र श्रीश्रीको युग पनि समाप्त भएर सबै नागरिकको युग सुरु भएर कानुनी सासन सुरु भएकाले गर्दा संविधानभन्दा माथि त ओलीजी होइन,’ शनिबार सुनसरीको इटहरीमा २६औं जनयुद्ध दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्न सुनसरीको इटहरी आइपुगेका उनले सञ्चारकर्मीसँग भने। उनले संविधानलाई ठिक ठाँउमा ल्याउन आन्दोलन नै प्रमुख रहेको समेत वताए।

‘व्यापक रूपमा जनता परिचालन गरेर प्रतिगमन परास्त गर्ने योजनाका साथ सडक आन्दोलन चलिरहेको छ। ठूलाठूला शासकलाई परास्त गर्ने उत्तम उपाय भनेकै सडक आन्दोलन हो,’ नेपालले भने। २६ औं जनयुद्ध दिवसको अवसर पारेर इटहरी वडा नं. १९ भवानीपुरमा रहेको सहिद स्मृति आवासिय माध्यमिक विद्यालयमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्न आएका नेता नेपालले आमाबाबु गुमाएका परिवारका सन्तानलाई मावि तहसम्म मात्र नभएर उच्च शिक्षासम्म पनि निःशुल्क पढाइनुपर्ने पनि बताए।  

नेतृ रामकुमारी झाक्रीले प्रधानमन्त्री ओलीले संविधान मिचेर च्यातेर अघि बढ्ने मार्ग अपनाउने प्रयास गरेकोमा आन्दोलनले उनको प्रयास सफल हुन नसकेको बताइन्। ‘हामी ओलीको असंवैधानिक कदमविरुद्ध संवैधानिक र कानुनी लडाइँ लडिरहेका छौं र राजनीतिक लडाइँ सडकबाट भइरहेको छ,’ उनले भनिन्। कार्यक्रममा नेता वर्षामान पुनले ओली सरकारकै कारण नेकपाले दुईतिहाइको सदुपयोग गर्न नसकेको बताए। सहिदहरूको बलिदानले ल्याएको गणतन्त्रमा ओलीको मनपरीतन्त्र भइरहेको नेकपा नेताहरूको भनाइ थियो।

प्रकाशित: २ फाल्गुन २०७७ ०१:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App