८ वैशाख २०८१ शनिबार
राजनीति

रअ प्रमुखसँगको भेटले नतिजा दिइसकेको छ: परराष्ट्रमन्त्री

फाइल तस्बिर।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय गुप्तचर निकाय रिसर्च एण्ड एनालिसिस विंग (रअ) का प्रमुख समान्तकुमार गोयलको नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री केपी ओलीसँगको भेटले नेपाल–भारत संवादहीनताको अवस्था तोडिएको बताएका छन्। प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबार बसेको बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीले ‘रअ’का प्रमुख ‘गोयलको भ्रमणपछि धेरै विषय अगाडि बढिसकेको र त्यसले थुप्रै नतिजा देखाइसकेको बताएका हुन्।

परराष्ट्रमन्त्री ज्ञवालीले प्रधानमन्त्री ओलीले गोयलसँग गरेको भेट अपारदर्शी नभएको पनि दाबी गरे।’ गोयल भारतीय प्रधामन्त्री नरेन्द्र मोदीको दूतका रुपमा नेपाल भ्रमणमा आएका र प्रधानमन्त्रीको प्रेस सल्लाहकारले प्रधानमन्त्रीसँग भेट भयो र यसयस विषयमा वार्ता भयो भनेको भन्दै उनले भने, ‘योभन्दा बढी पारदर्शीता हामीले कति खोज्छौं, सम्भव हुन्छ ?’

उनले गोयलको भ्रमणलाई ठूलो विषय नबनाउन आग्रह पनि गरे। गोयलको भ्रमण पछि भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगलाको नेपाल भ्रमणले नेपालभारतबीच औपचारिक वार्ताको ढोका खोलेको उनले बताए। ‘हालै भएको भारतका विदेश सचिवको भ्रमणले नेपाल–भारतबीच औपचारिक वार्ताको ढोका खोलेको छ, व्यापार, वाणिज्य, जलस्रोत, सीमा विवादका विषयमा भारतसँग स्पष्ट छलफल गर्ने बाटो खुल्ला भएकोछ’ मन्त्री ज्ञवालीले बताए। भारतीय विदेश सचिव श्रृंगलाको नेपाल भ्रमणमा सीमा सम्बन्धी समस्यालाई औपचारिक एजेण्डा बनाएर उठाइसकेको र त्यसलाई प्रेस विज्ञप्तिीमा समेत उल्लेख गरिएको उनले बताए। नेपालले जुन उचाइबाट सीमा समस्याको कुरा राख्नुपर्ने हो त्यसलाई औपचारिक रुपमा नै एजेन्डा बनाएर राखिएको उनको भनाइ थियोे।

यस्तै सीमासम्बन्धी विषयमा छलफल गर्ने गरी दुई देशका सचिवस्तरीय बैठक बस्ने तयारी भइरहेको र दुवै मुलुका परराष्ट्रमन्त्री रहेको संयुक्त आयोगको बैठक गर्ने तयारी भएको पनि मन्त्री ज्ञवालीले बताए। नेपाल–भारत सम्बन्धमा देखिएको समस्यालाई वार्ताबाट समाधान गर्ने र सुदृढ बनाएर जाने दिशामा अगाडि बढी सकिएको उनले दाबी गरेका छन्। नाकावन्दीको बेला नेपाल भारतबीचको संवादहिनालाई तोड्नका लागि तत्कालिन सेना प्रमुख राजेन्द्र क्षेत्रीलाई र तत्कालिन मेजर जनरल हिमालय थापालाई पठाइएको बताए। ‘नाकाबन्दीको बेला हामीले तत्कालीन सेना प्रमुख राजेन्द्र क्षत्रीजीलाई पठाएको हो, हिमालय थापा जानु भएको हो,’ उनले भने। दुई देशबीच सम्बन्ध तिक्ततापूर्ण रहेको बेला सम्बन्ध सुधारका लागि कहिले व्यापारी त कहिले धार्मिक, सांस्कृतिक, नागरिक समूह प्रयोग हुन्छन,’ उनले भने।

समिति बैठकमा नेकपा सांसद भीम रावलले राति आफ्नै निवासमा भारतीय गुप्तचर संस्थाका प्रमुखलाई प्रधानमन्त्रीले भेट्ने कुरा ठीक नभएको भन्दै परराष्ट्रमन्त्रीसँग जवाफ मागेका थिए। नेता रावलले ‘भारतीय गुप्तचर प्रमुखलाई राती प्रधनमन्त्रीले निवासमा भेट्ने कुरा हाम्रो स्वतन्त्र परराष्ट्र नीतिविरुद्ध हो।’ भन्दै विरोध गरेका थिए। उनले भने ‘यसले प्रधानमन्त्री र देशको मर्यादा पनि बढाउँदैन’,‘बैठकमा प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रकाशमान सिंह, दिव्यमाणि राजभण्डारीले पनि गोयलसँगको भेटबारे परराष्ट्रमन्त्री ज्ञवालीलाई प्रश्न सोधेका थिए।

प्रकाशित: २० मंसिर २०७७ ०३:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App