२५ फाल्गुन २०८२ सोमबार
image/svg+xml
समाज

साकेलाको धनेश्वरी गुफागाई धार्मिक पर्यटकीयस्थल बनाइने

धन्नेश्वरी गुफाको सरसफाई श्रमदानबाट गर्दै साकेलाबासी ।

खोटाङको साकेला गाउँपालिकाको धनेश्वरी गुफालाई ‘धार्मिक पर्यटकीयस्थल’को रुपमा विकास गर्न लागिएको छ । सदियौँदेखि स्थानीयबासीको आस्था र विश्वासको केन्द्र बन्दै आएको साकेला २ रतन्छामा रहेको यो गुफालाई गाउँपालिकाले नीतिगतरुपमै धार्मिक पर्यटकीयस्थलमा विकास गर्नेगरि योजना अघि बढाएको हो ।  

गतवर्षदेखि श्रमदानमार्फत विभिन्न सार्वजनिकस्थल, सङ्घसंस्था, विद्यालय, सडक बाटो निर्माण अभियान चलाउँदै आएको गाउँपालिकाले धनेश्वरी गुफाक्षेत्र पनि भर्खर श्रमदानबाटै सरसफाई गरेको छ । केही दिनअघि मात्र स्थानीयबासी, प्रहरी, कर्मचारी र जनप्रतिनिधिसँगै श्रमदानमार्फत गुफाक्षेत्रको सरसफाईमा खटेका गाउँपालिका अध्यक्ष रविप्रकाश राईले यो ठाउँलाई धार्मिक–पर्यटकीय विकासतर्फ अघि बढाउने योजना सार्वजनिक गरे ।  

गुफाक्षेत्र परम्परागतरुपमै धार्मिक जन आस्थाको केन्द्रको रुपमा रहदै आएको भन्दै अध्यक्ष राईले यसको संस्थागत विकास गर्दै गाउँपालिकाकै नमूना र आस्थाको केन्द्रकै रुपमा कायम गर्न धार्मिक पर्यटकीयस्थलको रुपमा विकास गर्ने खाका बनाएको बताए । ऐतिहासिक, धार्मिक र पर्यटकीय महत्व बोकेको गुफा भएकाले यसलाई संरक्षण, प्रवर्धन र विकास गर्न सके धन्नेश्वरी गाउँपालिकाको मात्र नभएर खोटाङकै धार्मिक पर्यटकीयस्थलमध्ये एक बन्ने विश्वास अध्यक्ष राईको छ ।  

परापूर्वकालसम्म चर्चित आस्थाको केन्द्र रहेको धन्नेश्वरी गुफामा हरेक रामनवमी, बाला चतुर्दशी, तीज र एकादशीमा मेला भर्ना टाढाटाढाबाट भक्तजन पुजा आराधना गर्न आउने गर्थे । स्थानीय बुढापाकाहरुका अनुसार यो गुफा निकै चर्चित र सोँचेको, मागेको कुरा पुग्ने धार्मिकस्थल भएकाले धेरै भक्तजनहरु भाकल गर्न र पुजा आराधना गर्न आउने आकर्षण केन्द्र थियो । पञ्चायतकालमा कायम रहेको त्यो क्रममा माओबादी जनयुद्धसँगै कमी आएको स्थानीयहरु बताउँछन् ।  

स्थानीय लोकबहादुर कटुवालका अनुसार जनयुद्धसँगै स्थानीयको बसाईसराई बढ्दै गएपछि गुफा ओझेल पर्दै गएको हो । तर, गणतन्त्र र सङ्घीयता स्थापनासँगै स्थानीयतह पुनर्संचना भएपछि गुफाको संरक्षण र प्रचारप्रसार कार्य सुरु भएर अहिले धार्मिक पर्यटकीयस्थलको रुप लिदै गएको कटुवालले बताए ।  

 

प्रकाशित: २३ पुस २०८२ १६:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App