१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

नेपाल–भारत मिलेर काम गर्नुपर्छ: श्रींगला

नेपाल भ्रमणमा आएका भारतका विदेश सचिव हर्षवर्द्धन श्रींगलाले सशक्त सहकार्यमुखी सम्बन्ध दुई देशको हितमा रहेको बताएका छन् । आइडिया नेपालले शुक्रबार काठमाडांैमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले घनिष्ठ मित्र र छिमेकीका रूपमा नेपाल र भारतले सँगै काम गर्नुपर्नेमा जोड दिए । युवाको आकांक्षा पूरा गर्नुपर्ने आवश्यकता औंल्याउँदै श्रींगलाले भने, ‘हामी नेपाल–भारतका भावी पुस्ताप्रति जवाफदेही छौं ।’  

नेपाल–भारतबीच समान भूगोल, सभ्यताको विरासत, संस्कृति र रितिरिवाज रहेको उल्लेख गर्दै उनले धार्मिक, आध्यात्मिक परम्परासँगै भोजनको शैलीसमेत समान रहेको बताए । दुई देशका जनताबीचको सम्बन्ध बलियो र मजबुत रहेको धारणा राख्दै उनले सरकारले त्यसमा पूरकको काममात्र गरिरहेको बताए । नेपाललगायत छिमेकी मुलुकको विकास र आधुनिकीकरणबिना भारतको विकास र आधुनिकीकरण पूरा नहुने तर्क गर्दै उनले प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१४ मा पहिलो कार्यकालका लागि सम्पन्न शपथ ग्रहण कार्यक्रममा नेपाललगायत छिमेकी मुलुकलाई आमन्त्रण गरेको स्मरण गरे ।

‘नेपाललगायत छिमेकी मुलुकको विकास र आधुनिकीकरणबिना भारतको विकास र आधुनिकीकरण पूरा नहुने भएकाले सशक्त सहकार्यमा लाग्नुपर्छ ।’  

श्रींगलाले नेपाल–भारत सम्बन्ध समान सभ्यताको विरासतबाहेक विभिन्न चार खम्बाका आधारमा टिकिरहेको बताए । ती खम्बाहरूमा विकास सहकार्य, मजबुत कनेक्टिभिटी, पूर्वाधार तथा आर्थिक परियोजनाको विस्तार र शिक्षा रहेको उनले स्पष्ट पारे । उनले भारत विश्वको सबैभन्दा ठूलो भ्याक्सिन उत्पादक मुलुक भएको दाबी गर्दै हाल कोभिड–१९ सम्बन्धी पाँचथरीका भ्याक्सिन अग्रिम परीक्षणको चरणमा रहेको र त्यसबाट नेपाललाई पनि लाभ पुग्ने विश्वास दिलाए । ‘भ्याक्सिन परीक्षण सफल भएपछि नेपालको माग हाम्रो प्राथमिकतामा पर्नेछ,’ उनले भने, ‘हामी महामारी एकैसाथ पार गर्नेछौं र हाम्रा नागरिकको रक्षा गर्नेछौं ।’  

कार्यक्रममा उनले नेपाल–भारत सहकार्यमा सम्पन्न भएका र हाल सञ्चालनमा रहेका परियोजनाबारे पनि जानकारी गराए । काठमाडौं उत्रिएलगत्तै बिहीबार प्रतिनिधिमण्डलस्तरीय तथा विभिन्न उच्चस्तरीय भेटघाटमा सहभागी भएका विदेश सचिव श्रींगलाले शुक्रबार गोरखा तथा मनाङ पुगेर भारतीय सहयोगमा निर्माण भएका पूर्वाधारको उद्घाटन गरेका थिए । उनले गोरखामा पुगेर राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई पनि सम्झिए । उनी शुक्रबारै स्वदेश फर्किए । फर्किनुअघि उनले केही राजनीतिक भेटघाट पनि गरेका थिए ।

प्रकाशित: १३ मंसिर २०७७ ०१:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App