१६ चैत्र २०८० शुक्रबार
राजनीति

कांग्रेसमा सहमति जुटाउन नेता सिटौला सक्रिय

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल पक्षबीच महाधिवेशन केन्द्रित विवाद तीव्र बन्न पुगेको छ । दुई नेताबीचको विवाद तीव्र बन्दै जाँदा कांग्रेसको १४औं महाधिवेशन नै अनिश्चित् बन्न लागेको भन्दै पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सक्रियता बढाएका छन् ।  

नेता पौडेल समूहले महाधिवेशनको निष्पक्षता र सुनिश्चिततासहित विषयमा प्रश्न उठाउँदै असोज १९ गतेभित्र पूर्ववत् निर्णय फिर्ता लिन माग गर्दै विरोधपत्र बुझाउने तयारी गरेका छन् । पार्टीभित्र विवाद बढाउनेभन्दा आपसी समझदारीमा महाधिवेशन सुनिश्चित गर्नुपर्ने भन्दै सिटौलाले शनिबार सभापति देउवा र आइतबार नेता पौडेललाई भेटेका छन् ।  

फागुनका लागि तय महाधिवेशनको कार्यतालिका नकारात्मक ढंगबाट प्रभावित भएको भन्दै सिटौलाले दुवै नेताहरूलाई अब फेरि महाधिवेशनको कार्यतालिका प्रभावित नहुनेगरी अघि बढ्न आग्रह गरेका छन् । ‘अहिलेको मूल सरोकार १४औं महाधिवेशन सुनिश्चित् गराउनु हो,’

सिटौलाले भने, ‘अहिलेको विवादले महाधिवेशन अनिश्चिततातिर धकेलिने देखिएको छ । त्यसका लागि आपसी छलफलबाटै महाधिवेशन सुनिश्चित् गर्न दुवै नेतालाई आग्रह गरेको छु ।’

महाधिवेशन मिति घोषणापछि सभापति देउवाले विभाग गठन गर्नुका साथै जथाभावी क्रियाशील सदस्यता वितरण गरेको भन्दै पौडेल समूहले प्रश्न उठाउँदै आएको छ । महाधिवेशनको निष्पक्षतामाथि प्रश्न उठ्ने काम सभापति देउवा र नेता पौडेल दुवै पक्षबाट हुन नहुने पनि सिटौलाको तर्क छ । उनले जीवन्त पार्टीमा नेतृत्वका लागि प्रतिस्पर्धा हुनु स्वाभाविक भए पनि त्यसको परिणामलाई पार्टीका सबै नेता तथा कार्यकर्ताले स्वीकार गर्नसक्ने हुनुपर्ने बताए । ‘महाधिवेशनपछि पार्टीमा बृहत् एकता कायम हुनुपर्छ,’ सिटौला भन्छन्, ‘आन्तरिक छलफल, वादविवादलाई कुशलतापूर्वक व्यवस्थित गरेर जनताबीच जानुपर्छ ।’  

भदौमा पार्टीको क्रियाशील सदस्यता केन्द्रमा आइसक्नु पर्ने भए पनि अझै कतिपय जिल्लाको समायोजनको काम नसकिएकाले फागुनमा महाधिवेशन सम्भवै नभएको नेता कृष्णप्रसाद सिटौलाको दाबी छ ।  

सभापतिले महाधिवेशन प्रभावित गर्न लागेको पौडेल पक्षले आशंका व्यक्त गर्दै पार्टी केन्द्रीय कार्यालयमा लिखित रूपमै विरोधपत्र दर्ता गराउँदै विरोधका कार्यक्रम सञ्चालन गर्ने तयारीमा छन् । आइतबारै उनीहरूले केन्द्रीय कार्यालयमा विरोधपत्र बुझाउने तयारी गरे पनि कोरोना भाइरस संक्रमणपछि घरमै आराम गरिरहेका महामन्त्री शशांक कोइरालाले समय मागेपछि पत्र दर्ता हुन सकेन । सोमबार विरोधपत्र दर्ता गराउने जानकारी दिँदै केन्द्रीय सदस्य नविन्द्रराज जोशीले भने, ‘प्राविधिक कारणले आइतबार दर्ता भएन सोमबार दर्ता गराउँछौं ।’  

पूर्वमहामन्त्री सिटौला भने कम्युनिस्टविरुद्ध लड्नुपर्ने बेलामा आन्तरिक विवाद चर्काउनु भन्दा आपसी छलफलबाट समाधान खोज्नुपर्ने बताउँछन् । कांग्रेसभित्रको आन्तरिक विवाद र फुट भएका बेला मुलुकमा लोकतान्त्रिक शासन व्यवस्था नै गुम्न पुगेको स्मरण गर्दै सिटौलाले भने, ‘बाहिर पोखिएको कुरा भित्र ल्याउन गाह्रो हुन्छ । त्यसैले विवाद सडकमा छताछुल्ल बनाउनेभन्दा समझदारीमा अघि बढ्नुपर्छ ।’ अस्वस्थ प्रतिस्पर्धाले दुर्घटना निम्त्याउनसक्ने भन्दै दुवै नेतालाई सचेत गराएको सिटौलाले बताए ।  

भदौमा पार्टीको क्रियाशील सदस्यता केन्द्रमा आइसक्नु पर्ने भए पनि अझै कतिपय जिल्लाको समायोजनको काम नसकिएकाले फागुनमा महाधिवेशन सम्भवै नभएको सिटौलाको दाबी छ । तर सभापति देउवा र नेता पौडेल अहिले पनि फागुनमै महाधिवेशन हुन्छ भन्दै आएकोप्रति आफू आश्चर्यमा परेको बताउँदै उनले भने, ‘क्रियाशील सदस्यता छानविनका लागि समिति गठन भएकै छैन, अब फागुनमा महाधिवेशन कसरी सम्भव हुन्छ ?’

विगतमा पनि नेताहरू आपसी समझदारीमा महाधिवेशनको कार्यतालिकासहित सबै प्रक्रिया तय हुने गरेको जनाउँदै उनले भने, ‘अब तोकिएको मिति प्रभावित नहुने गरी कार्यतालिका तय गर्नुपर्छ । त्यही कुरा दुवै नेतालाई भनेको छु ।’  

तर नेता पौडेलले सभापति देउवा महाधिवेशन गराउने पक्षमै नरहेको भन्दै उनले सहयोगी नबन्न सिटौलालाई आग्रह गरेका छन् । फरक देखाउने नाममा सभापति देउवाले बल पाएको बताउँदै पौडेलले पार्टीलाई जोगाउन दबाब खडा गर्नुपर्ने समय आएको बताएका छन् । महाधिवेशनको निष्पक्षता र सुनिश्चितताका लागि आफूहरूले हस्ताक्षरसहित विरोधपत्र दर्ता गराउन लागेको भन्दै सिटौलालाई पनि सहभागी हुन उनले आग्रह गरेका छन् । सिटौलाले विरोधपत्रमा हस्ताक्षर गर्ने र केन्द्रीय समितिको बैठकमा त्यसमा लेखिएको भन्दा बढी बोल्ने आश्वासन पौडेललाई दिएका छन् । पौडेल समूहले सिटौला पक्षको पनि साथ लिएर अघि बढ्न खोजेको थियो । तर उनले शनिबारै निकट केन्द्रीय सदस्यको बैठक राखेर सहभागी नहुने निष्कर्ष निकालेका थिए ।

प्रकाशित: १२ आश्विन २०७७ ०३:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App