जवाफदेहिता निगरानी समितिले चितवनको चेपाङ समुदायमा भएको घटनाको निष्पक्ष छानबिन गरी दोषीउपर कारवाही गर्न माग गरेको छ ।
समितिमा संयोजक चरण प्रसाईंद्वारा आज जारी प्रेस विज्ञप्तिमा घटनाको स्वतन्त्र र निष्पक्ष छानबिन गरी चेपाङ समुदायको सम्मानपूर्वक बाँच्न पाउने अधिकारको संरक्षणका साथै मृतक राजकुमार चेपाङका परिवार र घाइतेलाई न्याय, उचित क्षतिपूर्ति तथा पुनःस्थापनाको व्यवस्था गरी दोषीउपर कानूनबमोजिम सजाय गर्न माग गरिएको छ ।
यही साउन १ गते चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएका नेपाली सेनाको कुटाइबाट चितवन जिल्ला राप्ती नपा–२ मिलनटोल बस्ने २४ वर्षीय राजकुमार चेपाङ गम्भीर घाइते भई साउन ७ गते उपचारका क्रममा मृत्यु भएको थियो भने पाँच पुरुष घाइते भएका थिए ।
‘चेपाङ समुदायका पाँच पुरुष र दुई महिला निकुञ्ज क्षेत्रभित्र घुँगी टिप्न गएको बखत नेपाली सेनाका अधिकारीले नियन्त्रणमा लिई निर्मम यातना दिएका थिए’, विज्ञप्तिमा भनिएको छ, ‘सुरक्षा निकायबाट भएका यस्ता गम्भीर घटनाको निष्पक्ष छानबिन गरी दोषीउपर कानूनबमोजिम कारवाही हुनुपर्छ ।’
नेपालको संविधानमा सम्मानपूर्वक बाँच्न पाउने हक, यातना विरुद्धको हक, आवासको हक र सामाजिक न्यायको हकलगायत मौलिक हक अधिकार तथा नेपाल पक्षराष्ट्र भएका अन्तर्राष्ट्रिय कानूनका प्रावधान विपरीत कार्यहरू निकुञ्ज सुरक्षाकर्मीबाट भएको हुँदा नियमित फौजदारी न्याय प्रणालीअन्तर्गत घटनाको अनुसन्धान गरी दोषीउपर अभियोजन गर्न सरकारसमक्ष समितिले माग गरेको छ ।
यही साउन ३ गते चितवन जिल्लाको माडी नगरपालिकाको मध्यवर्ती वन क्षेत्रस्थित कुसुम खोलामा २०५३ सालदेखि बसोबास गर्दै आइरहेका चेपाङ समुदायका सुकुम्वासीको घरमा चितवन राष्ट्रिय निकुञ्जबाट खटिएको टोलीले निकुञ्जको जग्गा खाली गर्ने भन्दै पूर्वजानकारी र वैकल्पिक व्यवस्थापनबिना दुई घरमा आगजनी गर्नाका साथै आठवटा घरमा हात्ती लगाएर पीडितको बासस्थान भत्काएको थियो ।
प्रकाशित: १३ श्रावण २०७७ ११:३५ मंगलबार