coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

रुकुम पश्चिम घटना प्रतिवेदन : पूर्वयोजना अनुसार कुटीकुटी हत्या

भेरी नदी घटना स्थल । तस्विरः विनोद परियार/नागरिक

अन्तरजातीय प्रेम सम्बन्धलाई बिहेमा परिणत गर्न खोज्दा रुकुम पश्चिममा ६ जनाको ज्यान जाने गरी भएको घटना पूर्वयोजना अनुसार कुटीकुटी हत्या भएको प्रतिवेदन सार्वजनिक भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले उक्त प्रतिवेदन सार्वजनिक गरेको हो ।

रुकुम पश्चिम चौरजहारी–८, सोतीमा मल्ल थर भएकी प्रेमिकालाई लिन जाजरकोट भेरी–४, रानागाउँका नवराज विकसहितको समूहलाई गाउँलेले पूर्वयोजना अनुसार आक्रमण गरेको प्रतिवेदनमा उल्लेख । जाजरकोट भेरी नगरपालिका–४ का नवराज विकसहित १८ जना युवा प्रेमिका लिन जेठ १० गते सोती गए थिए । त्यहाँ पुग्दा स्थानीय ५०÷६० जना समूहले पीडितलाई लखेट्दै भेरी नदीको किनारासम्म पु¥याएको र कुटपिट तथा आक्रमण गर्दा नवराज विकसहित ६ जनाको मृत्यु भएको उक्त प्रतिवेदनमा उल्लेख गरिएको छ । सो घटनाका सम्बन्धमा इन्सेकसहित मानव अधिकार संस्थाका प्रतिनिधिले जेठ १३ गतेदेखि जेठ १५ गतेसम्म घटनास्थलको अनुगमन, घटनाका घाइते, स्थानीय, घटनाका आरोपितका साथै सरोकारवालासँग भेटघाट तथा छलफल गरेका थिए ।

नवराज र उनकी प्रेमिका भनिएकी युवतीबीच २०७५ मा जाजरकोटको कुदुमा भएको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा पहिलो भेट भएको थियो । प्रतिवेदनअनुसार त्यसयता उनीहरू नियमित सम्पर्क थिए । २०७६ मा जाजरकोटस्थित खलंगामा भएको मेलामा ती युवती चार दिनसम्म नवराजको घरमा बसेको बताइएको छ । ‘पहिलोपटक युवतीको घरमा जाँदा युवतीकी आमाले खाना खुवाएर जात नमिल्ने भन्दै  नआउन  आग्रह  गरिन्,’ उक्त प्रतिवेदनमा भनिएको छ, ‘दोस्रो  पटक चैत  १७  गते  युवतीको  घरमा  जाँदा  वडाअध्यक्ष डम्बरबहादुर मल्ल, युवतीका दाइ विनोद मल्ल र परिवारका सदस्यले नवराजलाई कुटपिट गरी इलाका प्रहरी कार्यालय चौरजहारीमा बुझाएका थिए ।’ सोही बेला नवराजलाई इलाका प्रहरी कार्यालय चौरजहारीको हिरासतमा एक दिन राखिएको थियो ।  

नवराजको गाउँदेखि सोती गाउँ पुग्न पैदल करिब दुई घण्टा ४५ मिनेटजति लाग्छ । नवराजसहितका साथी सोती गाउँमा जेठ १० गते साँझ करिब ५ः३० बजे पुगेका थिए । युवतीकी आमाले नवराजलाई चिनेपछि ‘तँ डुम फेरि तलाई आइस्, कुटाइ नपुगेको हो’ भनि गाली गरेको बताइएको छ । सो लगत्तै नवराजसहितका साथी युवतीको घर नजिकबाट फर्किए । उनीहरूले बाटोमा पर्ने बालकुमारी विश्वकर्माको घरको धारामा पानी खाएका थिए । सोही क्रममा सोतीका नाम थाहा नभएका स्थानीयले ‘कहाँबाट आयांै बाबु हो काफल खाएर जाऊ’ भनि अल्मल्याएको देखिने इन्सेकले जनाएको छ । नवराजको समूहले उक्त अनुरोध अस्वीकार गरेर हिँडेका थिए ।  

त्यहाँबाट उनीहरू सरासर बन्चरे भन्ने ठाउँस्थित मध्ये पहाडी लोकमार्गको माथिल्लो भागमा बसेका थिए । सोही ठाउँमा बसी रहेकै अवस्थामा गाउँलेको समूहले घरेलु हतियारसहित घेरा हाली आक्रमण गरेको प्रतिवेदनमा उल्लेख छ । ती गाउँलेले घेरा हालेर कुटपिट गरेका थिए । आक्रमणपछि भेरी–४, का २१ वर्षीय नवराज विक, सोही वडाका २१ वर्षीय सञ्जु विक, १७ वर्षीय गणेश बिएम, भेरी–११, का १८ वर्षीय लोकेन्द्र सुनार, गोविन्द शाही र रुकुम पश्चिम चौरजहारी–१, का २० वर्षीय टिकाराम सुनारको मृत्यु भएको थियो । उनीहरू सबैको शव भेरी नदीमा भेटिएको प्रहरीले जनाएको छ ।

पेट नफुलेको, पानी नखाएको, शरीर नसुन्निएको, टाउको तथा शरीरमा चोट लागेको अवस्थामा सबै शव भेटिएको इन्सेकले जनाएको छ । उक्त आक्रमणमा परि १२ जना युवासमेत घाइते भएका थिए । स्थानीय बालकुमारी विश्वकर्मालाई जनाउँदै इन्सेकले आक्रमण गर्दा घरेलु हतियार (हँसिया, कुटो र दाउरा) कुटपिट गर्दै भेरी नदीको किनारसम्म पु¥याएको जनाएको छ । घटनामा दोहोरो भिडन्त वा प्रतिकार नभएको समेत इन्सेकले जनाएको छ । पीडक भनिएका र यहाँका जनप्रतिनिधिले प्रतिकार गर्न खोज्दा घटना घटेको बताउँदै आएका छन् । उक्त आक्रमणमा सहभागी सोतीका स्थानीयमा चोटपटक नलागेको र घाइते पनि नभएको बताइएको छ ।  

घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय सर्वदलीय संसदीय छानबिन समिति गठन गर्नुपर्ने, जातीय विभेदका कारण हुने हिंसाविरुद्ध राजनीतिक दल, सञ्चार क्षेत्र, नागरिक समाजको एकीकृत पहलकदमी आवश्यक, घटनाका पीडित परिवारको सामाजिक सुरक्षाको प्रत्याभूतिका लागि राज्यको उपस्थिति र प्रभावकारी कार्यक्रम आवश्यककता हुने इन्सेक प्रतिनिधि मनिषा केसीले जनाइन् । उक्त घटनापछि विभिन्न छानबिन समितिले घटनाको अध्ययन अनुगमन गरिरहेका छन् ।

घटनाबारे सम्बन्धित निकायको भनाइ । (स्रोतः इन्सेक)

डम्बरबहादुर मल्ल

चौरजहारी–८, वडाध्यक्ष (हाल प्रहरी हिरासतमा)

कोरोनाको महामारी बढ्दै गएको बेला गाउँ आएका नवराव विकसहितका युवालाई स्थानीय समुदायले कहाँबाट किन आएको भनि सोधपुछ गर्दै थिए । नवराज यसअघि पनि पटकपटक आएको हुँदा मैले प्रहरीलाई खबर गरेको हुँ । यत्तिकैमा गाउँले पनि जम्मा भए । उनीहरू आबेगमा आएपछि घटना हुन पुग्यो ।

मुनलाल नेपाली

मृतक नवराज विकका बुबा

घटनाको प्रत्यक्षदर्शी म होइन । लासको विषयमा कसैले लास नबुझ भन्छन्, कसैले क्षतिपूर्तिको माग गर भन्छन् । आफूलाई दुःख परेको छ केटा र युवतीबीच दुई वर्षदेखि प्रेम सम्बन्ध थियो । युवती हाम्रो घरमा पहिलोचोटि २०७६ पुसमा आएकी थिइन् । त्यतिबेला चार दिन बसेर फर्केको, दोस्रोपटक दुई दिन बसेर गइन् । आफू नवराजको साथी भएको र आफूलाई बुहारी भन्न युवतीले आग्रह गरेपछि मात्र छोराको साथी रहेछ भन्ने थाहा पाए । त्यसपछि अहिले तिमीसानै छौ भर्खर नौ कक्षामा पढ्दै छौ, उमेर पुगेपछि विवाह गरौला । एक त तिमीसँग जात मिल्दैन । तिमीले विवाह गरेपछि मात्र बुहारी भनौला भनि सम्झाइबुझाइ गरी पठाएको थिएँ । घरपरिवारमा विवाह गर्ने÷नगर्ने भन्ने कुराको जानकारी थिएन । माथिल्लो जातको छोरी ल्याउन खाजेको कारण हत्या गरिएको होला ।

पदमबहादुर बुढा

मृतक गणेश बिएमका बुबा

नवराज मेरो छोरा गणेश बिएमको साथी हो । घरबाट खेल्न जान्छु भन्दै गएको थियो । घटनामा परेछ । सोतीका मानिसले किन कुटपिट गरे थाहा भएन । युवतीकी आमाले सोतीको स्थानीयलाई उक्साएका कारण यो घटना भएको हुनुपर्छ । छोरीलाई तल्लो जातको केटासँग विवाह गर्न नदिने मनसाय थियो होला ।

सोभे विक

मृतक टिकाराम सुनारका बुबा

मेरो छोरा रानागाउँमा काकीको घरमा बस्ने गथ्र्यो । नवराजलाई युवतीले बोलाए नबोलाएको थाहा भएन । मेरो छोरालाई बाहिरबाट चक्कुले हानेर मारेर फालेका रहेछन् । नवराजलाई पनि बाहिर कुटपिट गरेका रहेछन् । नवराजको समूह युवतीको घरमा पुगेका होइनन् । डुमको छोरा आयो भन्दै केटीकी आमाले छिमेकीलाई बोलाएर हँसिया, कुटो र दाउराले हानी मारेका रहेछन् । टाउकोमा चोट छ । अन्तरजातीय प्रेम सम्बन्धका कारण दुवैजनाको प्रेम सम्बन्ध भत्काउन यो घटना भएको हो ।

गोविन्द सुनार

घटनाका घाइते

आफूलाई नवराजले दुलही ल्याउनु पर्नेछ आऊ भन्दै फोन गरेर बोलाए । हामी सबै २० जना धल्ला पुलमा जम्मा भयौ । धल्लाबाट हामी सोती गाउँतर्फ जाँदै गर्दा बाटोबाट दुईजना साथीहरू फर्किए र हामी १८ जना युवतीको घर नजिक पुग्यौ । युवतीकी आमाले हामीलाई देखिन् । ‘डुम फेरि आइस् । अस्तीको कुटाइले पुगेन’ भन्दै गालीगलौज गरिन् । नवराजलाई हामीले नचिन्ने अवस्थामा राखेका थियौ । तै पनि युवतीको आमाले नवराजलाई चिनिन् । हामी चुपचाप फर्कियौ । युवतीसँग भेट भएन । हामी फर्केर सोती गाउँभन्दा तल सडकमा पुगिसकेपछि ढुंगामुढाले आक्रमण भयो । ३०÷४० जना आएर हामीलाई हँसिया दाउरा र ढुंगाले कुटे । हामीलाई नकुट्नुस् हामीले केही गरेका छैनौ भनि अनुनय विनय गर्दा पनि उनीहरूले हाम्रो कुरा सुनेनन् । मलाई नदीबाट तानेर कुटपिट गर्ने क्रममा म बेहास भएछु । मलाई प्रहरीले बचाएको रहेछ ।

मदन शाही

घटनाका घाइते

घटना हुने दिन म घरमा थिएँ । नवराजले फोन गरेर ‘युवती लिन’ जाउँ भनेर बोलायो । हामी त्यहाँ गयौ । त्यस्तो हुन्छ भन्ने थाहा पाएको भए हामी जाने थिएनौ । हामीलाई देखिसकेपछि युवतीकी आमाले ‘डुम फेरि आइस्, त डुमलाई आज यही मार्न पर्छ’ भन्दै गालीगलौज गरिन् । हामीले आन्टी ‘हामी त्यत्तिकै आएका हौ’ भन्यौ । त्यसपछि हामी त्यहाँबाट फर्कियौ । सोती गाउँभन्दा तल सडकको माथिपट्टि ढुंगामा आएर बसेका थियौ । त्यो गाउँमा कोही थिएनन् । कहाँबाट आएर एक्कासी आक्रमण गरे ।

त्यसरी आएर हान्छन् भन्ने थाहा पाएको भए त बस्ने थिएनौ । एक्कासी माथिबाट धेरैको संख्यामा आएर ढुंगाले हाने । हामी हाम्रो जिल्लामा आउँदा पनि उनीहरूले त्यहाँ आएर कुटेका थिए । चारैतिर घेरेर ढुंगा दाउराले हाने । कसैको होस थिएन । गाउँका सबै आएर लखेटेर कुटे र हत्या गरी भेरीमा फालिदिएका हुन् । मृत्यु भएका सबै भेरी नदीमा पौडी खेल्न जान्ने मान्छे हुन् ।

इन्द्रजंग शाही

घटनाका घाइते

हामी जाजरकोट रानागाउँबाट नौजना धल्ला गयौ । धल्लामा अरु साथीहरू थिए । नवराजले हामीलाई युवती लिन जाऊ भनेर बोलायो । हामी धल्लाबाट सबै साथी जम्मा भएर गयौ । हामी युवतीको घरमा नपुग्दै युवतीको घर नजिकै सडकमा थियौ । हामीलाई युवतीको आमाले देखेर गालीगलौज गरिन् । त्यसपछि हामी कसैलाई केही नभनि फर्कियौ । हामी सोती गाउँभन्दा तल आएर बसेका थियौ । एक्कासी माथिबाट आएर ढुंगाले हाने । चारैतिर घेरेर आक्रमण गरे । हाम्रा साथीहरूलाई मारेर भेरीमा फालेका हुन् ।

ठगबहादुर केसी

डिएसपी, रुकुम पश्चिम

घटना अनुसन्धानको क्रममा रहेको छ । पीडित पक्षले जाजरकोट जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका छन् । प्रहरीले घटनामा संलग्न भएको आरोपमा १८ जनालाई गिरफ्तार गरेको छ । घटनाको सत्यतथ्य छानबिन हुनेछ । फरार रहेकाको खोजबिन भइरहेको छ ।

किशोरकुमार श्रेष्ठ

डिएसपी, जिल्ला प्रहरी कार्यालय, जाजरकोट

हामी अनुसन्धानका क्रममा छौं । हालसम्म १८ जनालाई गिरफ्तार गरिएको छ । उच्चस्तरीय छानबिन समिति पनि जिल्लामा आएको छ । सोधपुछ भइरहेको छ । हामीकहाँ पोष्टमार्टमको प्रतिवेदन आइसकेको छैन ।

सुनिल पुन,  

डाक्टर, स्वास्थ्य सेवा कार्यालय, जाजरकोट

सोती घटनामा भेटिएका पाँचजनाको शवको पोेष्टमार्ट भइसकेको छ । पोष्टमार्ट प्रतिवेदन बनाउँदै छौं । जेठ १३ गते एक शवको पोष्टमार्टम भएको थियो भने जेठ १४ गते दुईजनाको पोष्टम भएको थियो । त्यसैगरी जेठ १५ गते एकजनाको शव र जेठ १६ गते अर्का एकजनाको शव पोष्टमार्टम भएको थियो । हामीले पोष्टमार्टमको रिपोर्ट प्रहरी कार्यालयमा बुझाउँछौ । तपाईंहरूले पोष्टमार्टमको रिपोर्ट प्रहरी कार्यालयबाट लिनु होला ।

प्रकाशित: २९ जेष्ठ २०७७ ११:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App