७ माघ २०८२ बुधबार
image/svg+xml
राजनीति

जेन-जी घाइतेहरूको वर्गीकरण गर्न गृहको परिपत्र

सरकारले जेन-जी आन्दोलनका क्रममा घाइते भएका नागरिकहरूको आधिकारिक वर्गीकरण प्रक्रिया सुरु गरेको छ।

गृह मन्त्रालयले मंगलबार देशभरका सबै जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र जारी गर्दै यथाशीघ्र घाइतेहरूको वर्गीकरण गरी विवरण पठाउन निर्देशन दिएको हो।

गृह मन्त्रालयको राहत तथा सध्या व्यवस्थापन शाखाले जारी गरेको परिपत्रअनुसार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट स्वीकृत ‘जेन-जी प्रदर्शनका घाइतेहरूको वर्गीकरण सम्बन्धी कार्यविधि, २०८२’ कार्यान्वयन गर्न निर्देशन दिइएको हो।

परिपत्रमा जिल्लास्तरीय वर्गीकरण सहजीकरण समिति गठन गरी सात दिनको सार्वजनिक सूचना जारी गरेर घाइते तथा अपाङ्गता भएका व्यक्तिहरूको वर्गीकरणको काम तत्काल सम्पन्न गर्न भनिएको छ।

शाखा अधिकृत भुवन राज पाण्डेयद्वारा हस्ताक्षरित परिपत्रमा भनिएको छ, ‘कार्यविधिअनुसार गठन हुने जिल्लास्तरीय समितिबाट घाइते तथा अपाङ्गको वर्गीकरणका लागि ७ (सात) दिनको सूचना प्रकाशन गरी काम यथाशीघ्र सम्पन्न गरी स्वास्थ्य मन्त्रालयमा रहेको प्राविधिक समितिमा पठाउनुहुन अनुरोध छ।’

गृह सचिवस्तरीय निर्णयअनुसार यसअघि नै ‘जेन-जी घाइते परिचयपत्र’ प्राप्त गरिसकेका व्यक्तिहरूले आफूलाई पायक पर्ने जुनसुकै जिल्ला प्रशासन कार्यालयबाट वर्गीकरण प्रक्रियामा सामेल हुन सक्ने व्यवस्था मिलाइएको छ।

वर्गीकरण सम्पन्न भएपछि जिल्ला समितिहरूले सोको विवरण स्वास्थ्य मन्त्रालयमा रहेको जेन-जी प्रदर्शन घाइतेहरूको प्राविधिक समितिमा पठाउनुपर्नेछ र त्यसको जानकारी गृह मन्त्रालयलाई पनि दिनुपर्नेछ।

 

प्रकाशित: २५ कार्तिक २०८२ १८:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App