राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेता सोबिता गौतमले पार्टी सभापति रवि लामिछानेको पक्षमा जारी हस्ताक्षर अभियानलाई नेपाली जनताको अभियान भनेकी छन्।
राजनीतिक मुद्दामा जनताको विचार, चेतना र प्रतिवाद हुने भन्दै उनले अभियानको सुरुवात पार्टीले गरे पनि त्यसको निरन्तरता जनताले गर्ने तर्क गरेकी छन्। ‘हस्ताक्षर अभियानको सुरुवात पार्टीले गरे पनि यसको निरन्तरता दिने नेपाली जनता हुन्र जनताको विचार कागजमा पोखिनेबित्तिकै गैरकानूनी भयो भन्नेहरू निषेधको राजनीतिको पहरेदार हुन्,’ गौतमले फेसबूकमा लेखेकी छन्।
अभियानलाई लिएर अदालतलाई प्रभावमा पार्न खोजियो भन्नेहरू नै अदालतको असली अवहेलना गर्नेहरू भएको पनि जिकिर गरेकी छन्। ‘किनकि यिनीरूले अदालतलाई प्रभावमा पार्न सकिने संस्थाको रूपमा प्रचार गरिरहेका छन्,’ उनले भनेकी छन्।
उनले सरकारले मुद्दा दायर गरेकै कारण यो मुद्दा कानूनी बनेको दोहोर्याएकी छन्। ‘जति यो मुद्दा कानूनी देखिन्छ, त्योभन्दा धेरै गुणा बढी यो राजनीतिक प्रतिशोधको उपज हो,’ उनले नभेकी छन्। रास्वपाले लामिछानेका विरुद्धमा राजनीतिक प्रतिशो साँधिएको तर्क गर्दै आएको छ। पार्टीले उक्त प्रतिशोधनका विरुद्धमा हस्ताक्षर अभियान चलाएको पार्टीका नेताहरूको भनाइ छ।
सहकारी ठगी मुद्दामा मुछिएर कारागारमा रहेका लामिछानेले गत असार ७ गते पार्टीको तेस्रो स्थापना दिवसको अवसर पारेर २० पृष्ठ लामो अपिल जारी गरेका थिए। उक्त अपिल पत्रमार्फत उनले हस्ताक्षर सङ्कलनको घोषणा गरेका थिए। त्यसअनुरूप अहिले पार्टीले हस्ताक्षर अभियान जारी राखेको छ।
प्रकाशित: २० असार २०८२ २०:५३ शुक्रबार





