राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर अभियान चलाएको छ, जुन अहिले जारी छ। शुक्रबार (आज) मात्रै रास्वपाले काठमाडौं उपत्यकाका १३ स्थानमा हस्ताक्षरका लागि ऐक्यबद्धता बुथ स्थापना गरेर हस्ताक्षर सङ्कलन गरिरहेको छ।
यो अभियान जिल्ला, पालिका हुँदै वडा तहसम्म विस्तार गर्ने तयारी रास्वपाको छ। असार १४ गतेबाट जिल्ला सदरमुकाम, पालिका केन्द्र हुँदै वडामा हस्ताक्षर सङ्कलन गरिने रास्वपाले जनाएको छ।
तर, सत्तासीन दल नेपाली कांग्रेसले भने अदालतमा विचाराधीन विषयमा कुनै गतिविधि गर्न नपाइने विधि सम्झाएको छ। ‘अदालतमा विचाराधीन विषयमा संसद्मा त प्रश्न गर्न नपाइने संवैधानिक व्यवस्था छ भने अदालतको निर्णयविरूद्ध सडकमा गरिएको प्रदर्शन र हस्ताक्षर अभियानले कस्तो न्याय प्रणाली स्थापित गर्ला ?,’ कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले भनेका छन्।
प्रमुख विश्वकर्माले रास्वपालाई सङ्कलन भइरहेको हस्ताक्षर बुझाउने ठाउँ र त्यसपछि निर्णय गर्ने निकायका बारेमा पनि प्रश्न गरेका छन्। ‘अनि हस्ताक्षर बुझाउने कहाँ ?,’ विश्वकर्माको प्रश्न छ, ‘तत्पश्चात् हस्ताक्षरका आधारमा कसले के निर्णय गर्ला ?’
रास्वपाले पार्टी सभापति लामिछानेविरुद्ध ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा चल्नु र थुनामा रहनुलाई 'राजनीतिक प्रतिशोध'को रूपमा अर्थ्याउँदै आएको छ। यो हस्ताक्षर अभियान पनि उक्त प्रतिशोधविरुद्ध नै भएको रास्वपाका नेताहरूले बताउँदै आएका छन्।
यसअघि गत असार ७ गते पार्टी स्थापनाको तेस्रो स्थापना दिवसका अवसरमा २० पृष्ठको दस्ताबेज सार्वजनिक गर्दै लामिछानेले यो अभियानको घोषणा गरेका थिए। अहिले जिल्ला प्रहरी कार्यालय, रुपन्देहीको हिरासतमा रहेका लामिछानेले दस्ताबेजमार्फत आफूविरुद्ध अत्याचार गरिएको बताएका छन्।
यो पनि पढ्नुहोस्
रविको पक्षमा हस्ताक्षर अभियान: काठमाडौंमा १३ स्थानमा ऐक्यबद्धता बुथ, १४ गतेबाट ७७ वटै जिल्लामा विस्तारप्रकाशित: १३ असार २०८२ १७:१८ शुक्रबार





