२३ पुस २०८२ बुधबार
image/svg+xml
राजनीति

तहसनहस भएको अर्थतन्त्र बिस्तारै लयमा फर्कदैं छ, अब देशले गति लिन्छ: पोखरेल

नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले तहसनहस भएको मुलुकको अर्थतन्त्र बिस्तारै लयमा फर्किन लागेको बताएका छन्।

राष्ट्रिय युवा सङ्घ नेपालको दोस्रो पूर्ण बैठकलाई मंगलबार ललितपुरमा सम्बोधन गर्दै उनले मुलुकको अर्थतन्त्र बिस्तारै लयमा फर्किन लागेकाले अब देशले विकासको गति लिने बताए।

महासचिव पोखरेलले नेपाली काङ्ग्रेस र एमालेको सरकार बने पनि देशको खराब अर्थतन्त्रको कारण जनताको अपेक्षाअनुसार काम गर्न नसकिएको बताए।

उनले मुलुकमा भएका खराब काममा एमालेको सहभागिता नरहने तर, एमालेमाथि नै आरोप र हमला हुने गरेको उनको भनाइ रहेको छ।

इतिहासमा असान्दर्भिक भइसकेको शक्तिले अहिलेको व्यवस्था र एमाले माथि प्रहार गरिरहेको उनले सुनाए। असान्दर्भिक भइसकेका राजावादीहरूले एमालेमाथि आक्रमण गर्नुको अर्थ एमाले ठिक ठाउँमा भएको महासचिव पोखरेलले उल्लेख गरे।

उनले यो कुरा नयाँ पुस्तालाई बुझाउनुपर्ने र त्यो काम राष्ट्रिय युवा सङ्घ नेपालले गर्नुपर्नेमा जोड दिए। एमाले र काङ्ग्रेस मिलेपछि साना दलको राष्ट्रिय औचित्य र भूमिका कमजोर भएको समेत उनले जिकिर गरे।

महासचिव पोखरेलले वैकल्पिक शक्तिका रूपमा आफूलाई उभ्याउन खोज्नेहरू पनि एमाले र एमाले नेतृत्वविरुद्ध केन्द्रित रहेका बताए। आफ्नो कुनै इतिहास र भविष्यको योजना नभएका अराजकतावादीहरू भ्रम सिर्जना गरेर आफ्नो स्वार्थ सिद्ध गर्न लागेको उनको आरोप थियो।

अहिले सामाजिक सञ्जालमा गलत मानिसको सक्रियताको कारण सामाजिक सञ्जाल नै खराब बनेको उल्लेख गर्दै युवालाई सामाजिक सञ्जालमा सकारात्मक र प्रभाकारी हुन महासचिव पोखरेलले आग्रह गरे।

पोखरेलले पार्टीमा सङ्गठनात्मक अराजकता र अवसरवाद मौलाएको भन्दै चिन्ता व्यक्त गरे।

सङ्गठनात्मक अराजकता र अवसरवाद प्रवृत्तिलाई पराजित नगर्दासम्म पार्टी सुदृढ नहुने उनको भनाइ थियो। सङ्गठनात्मक अराजकताले गुटबन्दी बढाउने र त्यसले पार्टीलाई कमजोर बनाउने उनको धारणा रहेको छ।

‘पार्टीमा अनुशासन कायम गर्नैपर्छ, सङ्गठनलाई बलियो बनाउन आलोचना कानमा खुसुक्क गर्नुपर्छ, प्रशंसा खुलेर माइकमा गर्नुपर्दछ’, उनले भने।

एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकालले पार्टीमा युवालाई प्राथमिकतामा राखेको भन्दै मिसन–२०८४ सफल बनाउन लाग्नुपर्ने बताए।

युवा सङ्घका इन्चार्ज राजीव पहाडीले युवाका मुद्दा पहिचान गरि युवालाई स्वदेशमा नै स्वरोजगार बनाउने खालका कार्यक्रममा युवा सङ्घ केन्द्रित हुनुपर्ने उल्लेख गरे।

प्रकाशित: १० असार २०८२ १९:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App