पारा तेक्वान्दोकी पलेसा गोवर्धन एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८१ मा ‘ट्रेलब्लेजर अफ दि इयर’ सम्मानित भएकी छन्। नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले बुधबार पोखराको राष्ट्रिय सभा हलमा आयोजित २२औँ संस्करणको स्पोर्ट्स अवार्ड कार्यक्रममा पलेसालाई पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले अवार्ड प्रदान गरे।
पलेसालाई यो सम्मान पेरिस पारा ओलम्पिकमा काश्य पदक जितेर इतिहास रचेपछि दिइएको हो। उनी पारा ओलम्पिक पदक जित्ने पहिलो नेपाली खेलाडी हुन्। गत वर्ष पलेसा एनएसजेएफ पारा एथ्लेट अवार्डबाट पनि सम्मानित भइसकेकी थिइन्।
यसैगरी, कराँतेकी एरिका गुरुङ र क्रिकेटर दिपेन्द्रसिंह ऐरी एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८१ का वर्ष खेलाडी घोषित भए। पुरुष उत्कृष्ट खेलाडी दिपेन्द्रले क्रिकेटका कुशल भुर्तेल, उसुका विजय सिन्जाली, खोखोका जनक चन्द र टेबलटेन्सिसका श्यान्टु श्रेष्ठलाई पछि पार्दै पुरस्कार जिते। गोल्छा समूहका निर्देशक अभिमन्यु गोल्छाले उनलाई अवार्ड प्रदान गरे।
दिपेन्द्रले एसिसी प्रिमियर कप २०२४ मा कतारविरुद्ध एकै ओभरमा छ छक्का प्रहार गर्दै इतिहास रचेका थिए। वर्ष २०८१ मा उनले ३७० रन जोड्नुका साथै २० विकेट लिए। अमेरिकामा सम्पन्न टी–२० विश्वकपमा ६ विकेट लिँदै उनी नेपालका लागि सर्वाधिक विकेट लिने बलर बने। नेपाल प्रिमियर लिगको पहिलो संस्करणमा सर्वोत्कृष्ट खेलाडी हुँदै कार पुरस्कार पनि जितेका थिए। प्रधानमन्त्री कपमा नेपाल पुलिस क्लबलाई च्याम्पियन बनाउँदै उनले चार अर्धशतक सहित ३०८ रन र ७ विकेट लिएका थिए।
महिला उत्कृष्ट खेलाडी एरिकाले गत वर्ष चार अन्तर्राष्ट्रिय स्वर्ण पदक जित्दै लगातार दोस्रो पटक वर्षको सर्वश्रेष्ठ महिला खेलाडीको अवार्ड हात पारे। उनले खोखोकी मानमती धामी, कराँतेकी एलिसा रास्कोटी मगर, भलिबलकी सलिना श्रेष्ठ र फुटबलकी रेखा पौडेललाई पछि पारिन्। एरिकाले भुटानमा सम्पन्न आठौं दक्षिण एसियाली कराँतेमा दोहोरो स्वर्ण, अस्ट्रेलियन ओपन २०२४ र सिंगापुरमा भएको १६ औं एसिया प्यासिफिक कराँते च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी थिइन्। चीनको २०औँ सिनियर कराँते च्याम्पियनसिप र दुबईको विश्व कराँते वन युथ लिगमा उनले रजत पदक पनि जितिन्।
भलिबलकी हिमाल सुनारीले पिपल्स च्वाइस अवार्ड जितिन्। ईसेवाको भोटिङ, मञ्च सदस्यको मत, फेसबुक लाइक र प्रमुख प्रशिक्षकको मतको आधारमा उनले ४०.१० प्रतिशत मत प्राप्त गर्दै अवार्ड हात पारे। प्रतिस्पर्धामा फुटबलकी रेखा पौडेल, क्रिकेटकी पूजा महतो, टेबलटेन्सिसकी इभाना थापा मगर र उसुका विजय सिन्जाली पनि थिए। अवार्ड उनीहरूलाई खल्ती बाइ आएइमइका सीईओ प्रवीण रेग्मी र नासा सेक्युरिटिजका ग्रोथ चिफ अनिल श्रेष्ठले प्रदान गरे।
पारा तेक्वान्दोका कविराज नेगी लामाले वर्षका उत्कृष्ट प्रशिक्षकको अवार्ड जिते। बागमती प्रदेश खेलकुद परिषद्का सदस्यसचिव दिपक लामा र नेपाल पर्यटन बोर्डका अफिसिङ निर्देशक सुनील शर्माले उनलाई सम्मानित गरे। नेगीले दीपक महर्जन (बक्सिङ), लक्ष्मीनारायण वैद्य (खो खो), महेश रिजाल (क्रिकेट) र कराँतेका कुशल श्रेष्ठलाई पछि पारेर अवार्ड हात पारे।
उपकान्त युवा खेलाडी पुरस्कार महिला क्रिकेटर पूजा महतोले जितिन्। उनले अजय बिक (एथ्लेटिक्स), अञ्जली महर्जन (कराँते), स्वस्तिका तिरुवा (बक्सिङ) र समीर तामाङ (फुटबल)लाई पछि पारिन्। पूजा नेपाली यु–१९ महिला टोलीको कप्तान रहँदा इतिहासमा पहिलो पटक महिला विश्वकपमा छनोट गराउन सफल भएकी थिइन्।
एनएसजेएफ पारा एथ्लिट अवार्डबाट प्रभा आङदम्बे सम्मानित भइन्। उनले लङजम्पमा ३.९६ मिटर उचाई नाघेर विश्व पारा एथलेटिक्समा ऐतिहासिक रजत पदक जितिन्।
लाइफटाइम एचिभमेन्ट अवार्डबाट एथलेटिक्सका खड्गबहादुर रानाभाट सम्मानित भए। उनी नेपाली खेलकुदको पहिलो पुस्ताका खेलाडी तथा प्रशिक्षक हुन्। स्पेसल अवार्डबाट तेक्वान्दोकर्मी तुलसी कुमार गुरुङ सम्मानित भए। गुरुङले दक्षिण कोरियाबाट नवौँ डान ब्ल्याक बेल्ट प्राप्त गरेका थिए र तीन दशकदेखि नेपाली खेलकुद विकासमा योगदान गर्दै आएका छन्।
भारतको नयाँ दिल्लीमा सम्पन्न पहिलो खोखो विश्वकपमा उपविजेता बनेको खोखो पुरुष र महिला टिमलाई ‘टिम अफ दि इयर’ अवार्ड प्रदान गरियो। यसैगरी, बङ्गलादेशका खेल पत्रकार राना हसनले एसियन स्पोर्ट्स जर्नलिस्ट अवार्ड प्राप्त गरे।
वर्ष खेलाडी पुरुष–महिला, पिपल्स च्वाइस, प्रशिक्षक र युवा गरी पाँच विधाका विजेतालाई बजाज पल्सर मोटरसाइकल प्रदान गरिएको थियो। अन्य विधाका विजेतालाई एक–एक लाख रुपैयाँ प्रदान गरिएको थियो। अवार्डको मुख्य प्रायोजक गोल्छा समूह, पावर्ड बाई यती एयरलाइन्स, भोटिङ पार्टनर खल्ती र पोसाक पार्टनर केल्मी नेपाल रहेको थियो।
प्रकाशित: २३ पुस २०८२ २१:१९ बुधबार





