२२ पुस २०८२ मंगलबार
image/svg+xml
राजनीति

कला र संस्कृतिलाई पर्यटनसँग जोड्दा देशले ठूलो प्रगति गर्छ : अध्यक्ष दाहाल

राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले नेपालको कला र सांस्कृतिक सम्पदा संरक्षणमा ललितकलाको महत्त्वपूर्ण योगदान रहेको बताएका छन्। 

नक्सालमा आयोजित ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८२’ को भ्रमण गर्दै उनले सातै प्रदेशका कलाकृति समेटिएको प्रदर्शनी देख्न पाउँदा खुशी लागेको बताए। उनले नेपाल कला क्षेत्रमा धेरै धनी रहेको उल्लेख गरे।  

‘प्रदर्शनी नेपाल कलामा कति धनी छ भन्ने कुराको एउटा प्रमाण पनि हो। सिङ्गो नेपालको कलाकृति, प्रतिभा र क्षमता यहाँ प्रदर्शन भएको छ भन्ने मलाई अनुभूत भएको छ,’ दाहालले भने।

उनले कला र संस्कृतिलाई पर्यटनसँग जोड्न सके देशले महत्त्वपूर्ण प्रगति गर्ने बताए। कलाको प्रचार र विकासले पर्यटन प्रवर्द्धन हुने र यसले आम्दानी तथा रोजगारी सिर्जना गर्ने उनको भनाइ थियो।

‘आम्दानी र रोजगारी सिर्जना हुने यस्ता खालका सबै विषयवस्तुलाई ठीक ढङ्गले व्यवस्थापन गर्नुपर्छ। हामीसँग कला छ, संस्कृति छ। यसलाई व्यवस्थित तरिकाले प्रचार–प्रसारलगायत काम गरे धेरै उपलब्धि हासिल गर्न सकिन्छ,’ दाहालले भने।

गत वर्ष पनि प्रदर्शनी अवलोकन गरेको स्मरण गर्दै उनले यसपटक विगतभन्दा सुधार भएको पाएको बताए। ललितकला नेपालको धरोहर भएको उल्लेख गर्दै उनले यसको महत्त्व र आवश्यकताबारे जनतामा सचेतना फैलाउनुपर्ने र त्यसका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए।

केही दिनअघि सभामुख देवराज घिमिरेले पनि प्रदर्शनी अवलोकन गरेका थिए। उनले नेपाललाई कलामार्फत विश्वमा चिनाउनुपर्नेमा जोड दिएका थिए।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८१’ बाट छानिएका प्रतियोगी, अप्रतियोगी र आमन्त्रित कलाकृति समावेश गरी ६५ जिल्लाका ६०५ कलाकारका ६५० भन्दा बढी कलाकृति ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८२’ मा राखेको छ।

जेठ ३१ सम्म चल्ने प्रदर्शनीमा ललितकलाका विभिन्न विधासँगै थारू, अवधी, मिथिला, नेवार, पर्वते, भोजपुरी, तामाङ, राउटे, डोम, राई, किरात समुदायका कलाकृति पनि समावेश छन्।

प्रकाशित: २५ जेष्ठ २०८२ २०:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App