प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व राष्ट्रपति विद्या भण्डारी एमाले राजनीतिमा फर्किन लागेको चर्चाबारे आक्रोश पोखेका छन्। आइतबार अनेरास्ववियुको महाधिवेशन उद्घाटन समारोहमा नाम नलिएर ओलीले आक्रोश व्यक्त गरेका हुन्।
‘अर्को खेल हुन खोज्या छ यहाँ। अब फलाना आउने अरे यहाँ, फलाना आउने रे,’ प्रधानमन्त्री ओलीले भने, ‘पार्टीमा यस्ता कुनै छलफलै भएको छैन, को महासचिव, को अध्यक्ष, को उपाध्यक्ष।’
महाधिवेशन घोषणा नै नभई, सरसल्लाह नै नगरी बाहिर हल्ला चलाएको भन्दै ओलीले आक्रोश पोखे। उनले भने, ‘महाधिवेशनमा के गर्ने सरसल्लाह भएको छैन, छलफल भएको छैन।’
यस्ता बाहिरी हल्ला चलाएर पार्टी कमजोर पार्न खोजे सह्य नहुने पनि प्रधानमन्त्री ओलीले बताए। ‘अनि यो बाहिर बाहिरका हल्ला चलाएर पार्टीलाई कमजोर पार्न खोज्ने, पार्टी कार्यकर्ताको मनस्थिति बिथोल्न खोज्ने यस्ता दुष्प्रयासलाई तपाईँहरू सोझै जवाफ दिनुस्,’ उनले भने।
यस्तै पार्टीभित्र ग्रुपका नाममा भइरहेको हल्लाको जवाफ दिन पनि उनले कार्यकर्तालाई आग्रह गरे । ‘तलतल यो ग्रुप भन्या छन्, त्यो ग्रुप भन्या छन्। यो ग्रुप र त्यो ग्रुपको आवश्यकता नै छैन,’ उनले भने,‘तपाईँहरूले सुन्ने बित्तिकै यस्ता कुरा नगर्नुस् भन्ने जवाफ दिइहाल्नुहोला।’
प्रकाशित: २५ जेष्ठ २०८२ १६:३६ आइतबार





