नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पूर्व प्रधानमन्त्री माधवकुमार नेपालविरुद्धको भ्रष्टाचार मुद्दाबारे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले फोनमा कुराकानी गरेको खुलासा गरेका छन्। शुक्रवार पत्रकारसँग कुरा गर्दै अध्यक्ष दाहालले यस्तो दाबी गरेका हुन्।
‘देउवाजीले हिजो फोन गर्नुभएको थियो,’ अध्यक्ष दाहालले भने, ‘खास गरी माधव नेपालमाथि मुद्दा दर्ता भएको विषयमा उहाँले मलाई सोध्नुभयो– के भएको हो भनेर।’
देउवाले आफूसँग त्यो कुरा सोधेपछि आश्चर्यमा परेको दाहालले बताए। उनले भने, ‘अब शेरबहादुरजीले मलाई सोध्ने भनेपछि म आश्चर्यमा परे फेरि। सत्तापक्षको सबैभन्दा ठुलो नेताले के भएको हो माधवजीको मुद्दा दर्ता कसरी भएको हो भनेपछि ...।’
त्यसपछि आफूले पो सोध्नुपर्ने हो भनेर देउवालाई भनेको उनले बताए। ‘मैले भने– मैले पो तपाईँलाई सोध्नुपर्ने हो, तपाईँले सोध्नुभयो? भनेर सोधेँ,’ दाहालले भने। उक्त कुराकानीबाट देउवालाई त्यसबारे थाहा नभएको आफूले बुझेको पनि उनले बताए। उनले भने, ‘शेरबहादुरजीले ढाँट्नुहुन्न, उहाँ सिधा सीधा भन्नुहुन्छ, ढाँट्नुहुन्न भन्ने लाग्छ।’
अख्तियारबाट नेपालमाथि भएको अभियोजन राजनीतिक प्रतिशोध साँध्ने ढङ्गले नै आएको दाहालले दाबी गरे।
प्रकाशित: २३ जेष्ठ २०८२ १५:४७ शुक्रबार





