११ पुस २०८२ शुक्रबार
image/svg+xml
राजनीति

एनपीको आरोप: सरकार संविधान संशोधन छाडेर जुहारीमा केन्द्रित भयो

नेपाली कांग्रेसका प्रभावशाली नेता एनपी साउदले दुई तिहाइको सरकार संविधान परिमार्जन भन्दा जुहारीमा मात्रै केन्द्रित रहेको टिप्पणी गरेका छन्। शनिवार कांग्रेस कास्की क्षेत्र नम्बर–२ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै साउदले यस्तो टिप्पणी गरेका हुन्। 

‘दुई तिहाइको सरकार संविधानमा परिमार्जन गर्नेतिर जाला भनेर हामीले सोचेका थियौँ,’ नेता साउदले भने, ‘तर सरकार खाली जुहारीमा मात्रै केन्द्रित भएको देखिन्छ।’

काममा जानुपर्ने र जनतालाई राहत दिनुपर्ने सरकार कहिले शिक्षकलाई, कहिले कर्मचारीलाई जवाफ दिने काममा मात्रै गयो भने आफ्ना प्राथमिक पूरा गर्न र दायित्व निर्वाह गर्न नसक्ने उनले बताए। 

संसद् भित्र र बाहिर आफूहरू सरकारको बचाउमा लागिरहेको नेता साउदले बताए। उनले भने, ‘सरकारलाई संसद्भित्र डिफेन्ड गरिराखेका छौँ। बाहिर पनि सरकारलाई डिफेन्ड गरिराखेका छौँ । तर, भएको वस्तुस्थितिलाई पार्टीभित्र पनि छलफलको विषय बनाउनुपर्छ भन्ने आधारमा दुई शब्द मैले यहाँ भनेको हुँ।’ 

अर्को प्रसङ्गमा नेता साउदले अहिले मुलुकको शासन प्रणाली अत्यन्तै महँगो भएको पनि बताए। ‘धेरै एक्सिपेन्सिभ भयो राज्य प्रणाली । नेपाली जनताले यति ज्यादा महँगो शासन प्रणाली व्यहोर्न सक्दैनन्। शासन प्रणालीमा जति साधारण खर्च बढ्छ त्यति विकासका सम्भावनाहरू कम हुन्छन् । किन भने विकास खर्च त्यति घट्छ’, उनले भने। 

अब संविधान संशोधन गरेर शासन प्रणालीमा हुने खर्च घटाउने विषयतर्फ ध्यान दिनुपर्नेमा उनले जोड दिए । 

प्रकाशित: २० वैशाख २०८२ १९:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App