नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले फेरि सरकारविरुद्ध निशाना साँधेका छन्। शनिवार नवलपरासी पुगेर शेखरले सरकार भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न पूर्णतः असफल भएको बताएका हुन्।
‘दुई ठुला दल कांग्रेस–एमालेको सरकार निर्माण हुँदा संविधान संशोधन, सुशासन, भ्रष्टाचारमुक्त लगायतका ७ बुँदे सहमति गरिएको थियो,’ नेपाल प्रेस युनियन नवलपुर शाखाले शनिवार कावासोतीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै शेखरले भने, ‘त्यसमा सरकार पूरै असफल भएको छ।’
यस्तै नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा सरकारले गरिरहेको ढिलासुस्तीमाथि पनि शेखरले प्रश्न उठाए। ‘अघिल्लो गभर्नरको एक महिना पदावधि छँदै नयाँ गभर्नर नियुक्ति सिफारिस गरिसक्नुपर्छ। अहिलेसम्म अघिल्लो गभर्नरको एक महिना पदावधि छँदै अर्को एउटा गभर्नर समयमा दिन नसक्ने सरकारले अरू के कुराको सुशासन दिन सक्छ भनेर अपेक्षा गर्ने ?’, शेखरले भने।
कांग्रेसको समर्थन र सहभागितामा अहिलेको सरकार भए पनि यसको मुख्य जिम्मेवारी एमालेकै हुने उनले बताए। उनले भने, ‘एमाले अध्यक्ष(केपी शर्मा ओली) कै नेतृत्वमा सरकार भएकाले यसको मुख्य जिम्मेवारी पनि एमालेकै हुन्छ।’
प्रकाशित: २० वैशाख २०८२ १२:५९ शनिबार





