नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले तोकेको फागुन २१ को प्रतिनिधिसभा अगावै १५ औँ महाधिवेशन सम्पन्न हुने दाबी गरेका छन्। बुधवार नागरिक फ्रन्टलाइन संवादमा कुराकानी गर्दै नेता कोइरालाले यस्तो बताएका हुन्।
यद्यपि पुस २६ देखि तोकिएको महाधिवेशनको मितिमा भने अलिअलि तलमाथि हुन सक्ने उनले बताए। ‘महाधिवेशन मिति अलिअलि तलमाथि होला। तर, हामी आम चुनाव अगाडी महाधिवेशन भने गरिहाल्छौँ,’ कोइरालाले भने।
फागुन २१ मा तोकिएको प्रतिनिधिसभा निर्वाचन हुनेमा भने उनले शङ्का व्यक्त गरे। ‘सरकारका तर्फबाट हुनुपर्ने जति वातावरण निर्माण भएकै छैन। हामी त चुनाव लड्न तयारै छौँ नि,’ उनले भने, ‘सरकारले गर्नुपर्ने काम त गरिसकेको जस्तो लाग्दैन।’
प्रकाशित: ९ पुस २०८२ १९:२१ बुधबार





