१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
अपराध

सब–इन्जिनियर हत्या प्रकरणः नियुक्तिको लोभमा आफ्नै साथीले चलाए गोली

सर्लाही सदरमुकाम मलंगवामा गत फागुन ३ गते राति भएको गोली काण्डमा नियुक्तिको लोभ रहेको अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीले सब–इन्जिनियर प्रमोद कुमार यादवको हत्या सम्बन्धमा भएको अनुसन्धानबारे शुक्रबार जानकारी दिँदै सब–इन्जिनियर पदका वैकल्पिक उम्मेदवार गणेश कुमार महतोले आफ्ना दुई जना आफन्तसँग मिलेर हत्या गरेको पाइएको बताएको हो ।  

सब–इन्जिनियर यादवमाथि गोली प्रहार गर्ने अभियुक्त महतो सर्लाहीकै रामनगर गाउँपालिकामा सब–इन्जिनियर पदमा करारमा कार्यरत रहेको प्रहरीले जनाएको छ । महतोले चलाएको गोली लागेर मृत्यु भएका सब–इन्जिनियर यादव सर्लाहीको पूर्वाधार विकास कार्यालयमा कार्यरत थिए । सिराहाको सुखीपुर नगरपालिका ९ बैशाखा घर भएका ३६ वर्षीय सब–इन्जिनियर यादव मलंगवा नपा १० स्थित दुर्गानन्द यादवको घरमा डेरा गरी बसेका थिए ।

सब–इन्जिनियर यादवलाई फागुन ३ गते करिब ८ बजे राति सब–इन्जिनियर महतोले फोन गरी डेरा बाहिर बोलाएर गोली हानी फरार भएका थिए । सर्लाही प्रहरीका अनुसार गोली प्रहार गर्ने सब–इन्जिनियर महतो महोत्तरीको रामगोपालपुर नगरपालिका ५ घर भई सर्लाहीको रामनगर गाउँपालिकामा पाँचौँ तहमा कार्यरत छन् । सब–इन्जिनियर महतो सर्लाहीकै बरहथवा नगरपालिका ९ शान्ति टोलमा डेरा लिएर बस्दै आएका छन् ।

मृतक सब–इन्जिनियर यादव र महतोबिच जनकपुरमा अन्तर्वार्ताको क्रममा चिनजान भएको प्रहरीको अनुसन्धानले देखाएको छ । प्रदेश लोक सेवा आयोगले सब–इन्जिनियर पदको गरेको विज्ञापनको अन्तर्वार्ताको क्रममा दुवै बिच चिनजान भएको र दुवै जनाबिच बेलाबेलामा फोनमा कुराकानी हुने गरेको प्रहरीको भनाइ छ ।  

सब–इन्जिनियर यादवले आफ्नो नाम राकेश यादव बताउने गरेको मृतक यादवको मोबाइलमा रहेको ह्वाट्सअपबाट देखिन आएको प्रहरीको भनाइ छ ।  

गत २०८१ फागुन ४ गते मधेश प्रदेश लोक सेवा आयोगले सब–इन्जिनियर पदमा स्थायी सिफारिस गर्दा मुख्य उम्मेदवार मृतक प्रमोद कुमार यादव रहेको र एक मात्र वैकल्पिक उम्मेदवारको रुपमा महतो रहेको देखिएको छ । पहिले पनि पटक पटक वैकल्पिक उम्मेदवारको रुपमा यादव सिफारिस भए तापनि महतो मुख्य उम्मेदवार बन्न नसकी नियुक्तिको लागि सिफारिस हुन नसक्दा मुख्य उम्मेदवारको हत्या गर्ने योजना महतोले बनाएको अनुसन्धानबाट देखिएको प्रहरीको भनाइ छ ।  

एक मात्र वैकल्पिक उम्मेदवारलाई नियुक्तिको लागि सिफारिस हुन नियुक्ति लागि सिफारिस भई नियुक्त भएको व्यक्तिको पद नियुक्त भएको एक वर्षभित्र रिक्त हुनुपर्ने जसको लागि नियुक्त भएको उम्मेदवारले कि त नियुक्त भएको एक वर्षभित्र राजीनाम दिएको हुनुपर्ने वा नियुक्त भएको एक वर्षभित्र नियुक्त भएको उम्मेदवारको मृत्यु भएमा मात्र वैकल्पिक उम्मेदवारले नियुक्तिको लागि सिफारिस भई स्थायी नियुक्ति पाउनुपर्ने प्रावधान रहेको बुझि सब–इन्जिनियर महतोले यादवलाई मारेमा आफ्नो नियुक्ति हुन सक्ने देखेर योजना बनाएको प्रहरीको अनुसन्धानबाट देखिएको छ ।  

सब–इन्जिनियर महतोले नातामा सालो पर्ने चन्द्रकिशोर सिंह कुशवाहासित मिलेर योजना बनाएको र आफ्नो भाइ विजय कुमार महतोलाई गत दशैँभन्दा पहिले नै हतियार किन्नको लागि असी हजार रुपैया समेत दिएको खुलेको छ ।  

अभियुक्त सब–इन्जिनियर महतोका भाई विजय कुमार महतोले हतियार किनेर उपलब्ध गराएको र घटनामा सोही हतियारको प्रयोग गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।  

घटनामा संलग्न भनिएका सब–इन्जिनियर महतो, निजका भाइ विजय कुमार महतो र सालो नाता पर्ने चन्द्र किशोर सिंह कुशवाहालाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान अगाडि बढाएको छ ।

प्रकाशित: १५ फाल्गुन २०८२ १६:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App