२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

फलफूल मुसाले खान्छ भनेर औषधी लगाउँथे, भिडियो भाइरल भएपछि दुईजना समातिए

फलफूलमा मुसाको विष हालेको आरोपमा दुई फलफूल विक्रेता पक्राउ परेका छन्।

घटना भारत, मुम्बईको मलाड क्षेत्रको हो। फलफूलमा मुसा मार्ने विष ‘रेटोल’ दलेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले दुई फलफूल व्यवसायीलाई पक्राउ गरेको छ।

फेब्रुअरी २०२६ को अन्तिम साता मालाड (पश्चिम) को राजनपाडा क्षेत्रमा दुई विक्रेताले केरा र अनार जस्ता फलफूलमा ‘रेटोल’ नामक मुसा मार्ने विषादी दल्दै गरेको भिडियो सार्वजनिक भएको थियो। उक्त भिडियो बाहिरिएपछि स्थानीय बासिन्दा र सामाजिक कार्यकर्ता कुणाल सालुंखेले प्रहरीमा उजुरी दिएका थिए।

मुम्बई प्रहरीले ४२ वर्षीय मनोज कुमार केसरवानी र २५ वर्षीय राहुल (विपिन) केसरवानीलाई पक्राउ गरी भारतीय न्याय संहिताको विभिन्न धारा अन्तर्गत मुद्दा दर्ता गरेको छ। उनीहरूमाथि खाद्य मिसावट र सर्वसाधारणको ज्यान जोखिममा पारेको आरोप लगाइएको छ। 

प्रहरी सोधपुछका क्रममा उनीहरूले राति मुसाबाट फलफूल जोगाउनका लागि विष दलेको स्वीकार गरेका छन्। उनीहरूले भनेका छन्, ‘यो फलफूल बेच्नका लागि नभई मुसा भगाउन प्रयोग गरिएको हो।’ उनीहरूले यस्तो दाबी गरे पनि प्रहरीले यसलाई गम्भीर अपराध मान्दै अनुसन्धान अगाडि बढाएको छ।

घटनापछि बृहन्मुम्बई महानगरपालिका (बीएमसी) ले उक्त अवैध फलफूल पसललाई सिल गरी हटाएको छ। मुम्बईका अन्य क्षेत्रमा पनि यस्ता अखाद्य वस्तुको प्रयोग रोक्न विशेष निरीक्षण अभियान सुरु गरिएको छ। 

चिकित्सकका अनुसार ‘रेटोल’ मा पहेँलो फस्फोरस हुन्छ, जसले कलेजो र मिर्गौलामा गम्भीर क्षति पुर्‍याउन सक्छ। फलफूल धोएर खाँदा पनि यसको विषाक्तता बोक्राबाट भित्र पस्ने सम्भावना हुने हुनाले उपभोक्तालाई सतर्क रहन आग्रह गरिएको छ।

प्रकाशित: १५ फाल्गुन २०८२ २०:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App