१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
निर्वाचन विशेष

रौतहट-सर्लाही: पुराना दललाई रास्वपा चुनौती

रौतहट र सर्लाहीका पुराना दलका नेतालाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार चुनौती बनेका छन्।

सर्लाहीको संसदीय निर्वाचन–३ र ४ का साथै रौतहट–१ बाट उम्मेदवार बनेका नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका लागि रास्वपा चुनौतीका रूपमा देखिएको हो।

सर्लाही–३ मा नेकपाबाट पूर्वउपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ उम्मेदवार छन्। श्रेष्ठलाई रास्वपाका नरेन्द्र साह कलवारले कडा चुनौती दिइरहेका छन्।

चुनाव प्रचारका क्रममा दिनरात मतदाताहरूबिच बिताइरहेका रास्वपाका कलवारले युवा पुस्ताको साथ लिएर श्रेष्ठलाई कडा चुनौती दिइरहेका हुन्।

क्षेत्र नम्बर-३ मा नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी (जसपा) नेपाल लगायत दलहरूबाट पनि उम्मेदवारहरू रहेका छन्।

कांग्रेस, एमाले, जसपाका नेता–कार्यकर्ताहरूको परिश्रम सम्मानयोग्य छ। मतदाताका बिचमा अन्य उम्मेदवारहरू पनि विश्वास जित्ने प्रयास गरिरहेका छन् तर श्रेष्ठलाई रास्वपा बनेर चुनौती रहेको ठानिएको छ।

सर्लाही–४ ले भने राष्ट्रिय स्तरमा चर्चा पाएको छ। क्षेत्र नम्बर-४ बाट नेपाली कांग्रेसका नव निर्वाचित सभापति गगन थापा उम्मेदवार बनेका छन्। कांग्रेस सभापति थापालाई रास्वपाका डा. अमरेशकुमार सिंहले कडा चुनौती दिएका छन्। अन्य धेरै दलले उम्मेदवार बनाए पनि सर्लाही–४ मा भने थापा र सिंहबिच नै सिधा टक्कर हुने देखिन्छ।

पहिलोपटक सर्लाहीबाट उम्मेदवार बनेका थापा र बलियो जनाधारका कारण निरन्तर निर्वाचित हुँदै आएका सिंहबिच नै स्थानीय प्रमुख व्यक्तित्वहरू ध्रुवीकृत हुँदै आएका छन्। दुवै उम्मेदवारका घरदैलोमा समर्थकहरूको उत्तिकै भिड देखिन्छ।

रौतहट–१ को अवस्था पनि उस्तै देखिएको छ। नेकपाका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई रास्वपाका उम्मेदवार राजेश चौधरी कलवारले चुनौती दिएका छन्।

रौतहट–१ मा कांग्रेसबाट अनिलकुमार झा, नेकपा एमालेबाट अजयकुमार गुप्ता तथा जसपा नेपालबाट योगेन्द्र यादवले पनि राम्रै जनसमर्थन पाइरहेका छन् तर मुख्य प्रतिस्पर्धा भने नेपाल र चौधरीबिच नै हुने देखिएको छ।

पटक-पटक निर्वाचित हुँदै आएका नेपाल र प्रतिनिधिसभाका लागि पहिलो पटक उम्मेदवार बनेका चौधरीबिच प्रतिस्पर्धा भइरहेको छ।

देशविदेशमा परिचित नेपाललाई रास्वापाका चौधरीले चुनौती दिएका छन्। रास्वपाले रौतहटबाट समानुपातिकतर्फ कसैलाई उम्मेदवार नबनाए पनि नेपालजस्तो दिग्गज व्यक्तित्वलाई चुनौती दिनुलाई धेरैले आश्चर्य मानेका छन्।

चुनावको मिति नजिकिँदै जाँदा रौतहट–१ मा सर्वसाधारण मतदाता नेपाल र चौधरीतिर ध्रुवीकृत हुँदै गएको देखिएको छ।

प्रकाशित: १५ फाल्गुन २०८२ १९:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App