२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

फागुन २१ को निर्वाचन नयाँ युगको सुरुवात: सोबिता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) की नेतृ एवं चितवन क्षेत्र नम्बर-३ की उम्मेदवार सोबिता गौतमले आगामी निर्वाचन दशकौंदेखि जरा गाडेर बसेको भ्रष्ट राजनीतिको अन्त्य गर्ने निर्णायक अवसर भएको बताएकी छन्।

शुक्रबार चितवनमा आयोजित परिवर्तनको उद्घोष सभालाई सम्बोधन गर्दै गौतमले पुराना दलहरूको कार्यशैलीले देशको अवस्था दयनीय बनाएको भन्दै अब युवा नेतृत्व र सुशासनको युग सुरु हुनुपर्नेमा जोड दिइन्।

सम्बोधनका क्रममा बीपी कोइरालाको भनाइ उद्धृत गर्दै उनले पुराना दलहरूप्रति प्रहार गरिन्। उनले भनिन्, ‘बीपी कोइरालाले भन्नुभएको थियो, मरिसकेको घोडामाथि चाबुक चलाइरहनु पर्दैन। विगतमा नेतृत्व गरेका व्यक्तिहरूले नेपाली जनताको सेवा कसरी गरे र मुद्दालाई कसरी उखानटुक्कामा बढाए भन्ने हामीले महसुस गरिरहेका छौं।’

उनले अब पुराना दलहरूलाई गाली गरेर समय खेर फाल्नुभन्दा नयाँ विकल्प रोज्नुपर्ने बताइन्।

आफ्नो निर्वाचन क्षेत्र चितवन-३ को हनुमान झुला पुग्दाको अनुभव सुनाउँदै गौतम भनिन्, ‘त्यहाँ पुग्दै गर्दा सुत्केरी गराउन नसकेर धेरै दिदीबहिनीले मृत्युवरण गर्नु परेको र उपचार नपाएर ज्यान गुमाउनु परेको मैले देखेँ। यही देशमा एउटा आमाले उपचार नपाएर मर्नुपर्ने, तर कसैको घरमा भने पैसाको ओइरो लाग्ने ? यो विभेदकारी समाज र प्रणाली अन्त्य गर्न अब रास्वपा आएको छ।’

आगामी फागुन २१ गते हुने निर्वाचन सामान्य हारजित मात्र नभई एउटा राजनीतिक युगको अन्त्य र अर्को युगको सुरुवात भएको उनले दाबी गरिन्।

उनले भनिन्, ‘यो निर्वाचनबाट अत्यधिक बहुमतसहित घण्टीमा मत हाल्नुहोस्। अब बालेन शाहको नेतृत्वमा नयाँ युवा पुस्ताको सरकार बन्छ, अनि मात्र हामी यो देशको भविष्य लेख्नेछौँ।’

प्रकाशित: १५ फाल्गुन २०८२ १६:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App