नेपालमा पछिल्लो समय बिमाप्रति नागरिकको आकर्षण बढ्दै जाँदा बिमा कम्पनीहरूले संकलन गर्ने शुल्क पनि उल्लेख्य रूपमा वृद्धि हुन थालेको छ। आर्थिक वर्ष २०८२/८३ को माघ महिनामा मात्रै जीवन बिमा कम्पनीहरूले करिब ३ अर्ब ४७ करोड ६७ लाख रुपैयाँ प्रथम बिमा–शुल्क संकलन गरेका छन्।
नेपाल बिमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार माघमा विभिन्न जीवन बिमा कम्पनीहरूले हजारौं नयाँ बिमा पोलिसी बिक्री गर्दै उल्लेख्य रकम संकलन गरेका हुन्। बिमाप्रति नागरिकको चासो बढ्दै जाँदा जीवन बिमा क्षेत्रको कारोबार विस्तार हुँदै गएको देखिन्छ।
बिमा क्षेत्रका जानकारहरूका अनुसार पछिल्लो समय नागरिकमा जोखिम व्यवस्थापनप्रति सचेतना बढ्दै जाँदा बिमाप्रति आकर्षण पनि बढ्दै गएको हो। स्वास्थ्य समस्या, दुर्घटना, प्राकृतिक विपत्ति वा आकस्मिक मृत्युजस्ता जोखिमबाट आर्थिक सुरक्षा प्राप्त गर्न बिमा महत्वपूर्ण माध्यम बन्न थालेको छ।
जीवन बिमा गर्दा बिमित व्यक्तिको मृत्यु वा दुर्घटनाका अवस्थामा परिवारले आर्थिक सहायता पाउने व्यवस्था हुन्छ। यसले परिवारको आर्थिक सुरक्षामा सहयोग पुर्याउँछ। त्यसैगरी केही बिमा योजनामा बचत र लगानीको सुविधा पनि हुने भएकाले भविष्यका लागि आर्थिक योजना बनाउन पनि जीवन बिमा उपयोगी मानिन्छ।
तथ्यांकअनुसार माघमा सबैभन्दा धेरै बिमा–शुल्क नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले संकलन गरेको छ। कम्पनीले उक्त अवधिमा ७६ करोड ५५ लाख रुपैयाँ बिमा–शुल्क संकलन गरेको जनाएको छ। दोस्रो स्थानमा रहेको नेसनल लाइफ इन्स्योरेन्सले ५२ करोड ५५ लाख रुपैयाँ बिमाशुल्क संकलन गरेको छ। त्यसपछि एलआइसी नेपालले २५ करोड ७२ लाख रुपैयाँ बिमा–शुल्क संकलन गरेको छ।
त्यस्तै सूर्यज्योति लाइफ इन्स्योरेन्सले २५ करोड ४९ लाख रुपैयाँ र आइएमई लाइफ इन्स्योरेन्सले २५ करोड ३१ लाख रुपैयाँ प्रथम बिमा–शुल्क संकलन गरेका छन्। यस अवधिमा हिमालयन लाइफ इन्स्योरेन्सले २२ करोड २१ लाख रुपैयाँ तथा सिटिजन लाइफ इन्स्योरेन्सले २२ करोड १७ लाख रुपैयाँ बिमा–शुल्क संकलन गरेका छन्।
त्यसैगरी एसियन लाइफ इन्स्योरेन्सले १७ करोड ६२ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले १६ करोड ८४ लाख रुपैयाँ र राष्ट्रिय जीवन बिमा कम्पनीले १५ करोड ७० लाख रुपैयाँ प्रथम बिमा–शुल्क संकलन गरेका छन्।
यसैगरी सानिमा रिलायन्स लाइफले १४ करोड २७ लाख रुपैयाँ, मेट लाइफले १२ करोड २५ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले १२ करोड एक लाख रुपैयाँ र सन नेपाल लाइफले ८ करोड ५२ लाख रुपैयाँ बिमाशुल्क संकलन गरेका छन्।
बिमा क्षेत्रलाई देशको वित्तीय प्रणालीको महत्वपूर्ण अंग मानिन्छ। बिमा कम्पनीहरूले संकलन गरेको रकम विभिन्न क्षेत्रका लगानीमा प्रयोग हुने भएकाले यसले आर्थिक गतिविधि विस्तारमा पनि योगदान पुर्याउँछ।
विशेषगरी दीर्घकालीन लगानीका स्रोतको रूपमा बिमा क्षेत्र महत्त्वपूर्ण मानिन्छ। संकलित बिमा–शुल्क बैंक तथा वित्तीय संस्था, पूर्वाधार परियोजना तथा विभिन्न लगानी क्षेत्रमा परिचालन हुने भएकाले आर्थिक विकासमा सहयोग पुग्ने विज्ञहरू बताउँछन्।
नेपाल सरकारले पनि बिमाक्षेत्र विस्तारलाई प्राथमिकतामा राख्दै विभिन्न नीतिगत व्यवस्था गर्दै आएको छ। बिमाको पहुँच बढाउन सरकार र नेपाल बिमा प्राधिकरणले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छन्। सरकारले कृषि बिमा, पशुपन्छी बिमा, लघुबिमा तथा सामाजिक सुरक्षा कार्यक्रमसँग जोडिएका बिमा योजनालाई पनि प्रोत्साहन गर्दै आएको छ। कतिपय बिमा योजनामा सरकारले अनुदानसमेत उपलब्ध गराउँदै आएको छ।
ग्रामीण तथा विपन्न समुदायसम्म बिमाको पहुँच विस्तार गर्नका लागि लघुबिमा कार्यक्रमलाई पनि प्राथमिकता दिइएको छ। बिमाक्षेत्र विस्तार हुँदै गए पनि नेपालमा अझै ठूलो जनसंख्या बिमाको पहुँचबाहिर रहेको विज्ञहरूको भनाइ छ। ग्रामीण क्षेत्रका धेरै नागरिकले बिमाको महत्त्वबारे पर्याप्त जानकारी नपाउँदा बिमाप्रति आकर्षण अपेक्षाअनुसार बढ्न सकेको छैन।
बिमा विज्ञहरूका अनुसार जनचेतना अभिवृद्धि, सरल बिमा योजना तथा डिजिटल प्रविधिको प्रयोगमार्फत बिमा सेवा विस्तार गर्न सकेमा आगामी दिनमा बिमा क्षेत्र अझ तीव्र रूपमा विस्तार हुने सम्भावना रहेको छ। बिमा कम्पनीहरूको कारोबार वृद्धि र नागरिकको सहभागिता बढ्दै जाँदा नेपालको बिमा उद्योग क्रमशः विस्तारको चरणमा रहेको देखिएको छ।
प्रकाशित: २४ फाल्गुन २०८२ १६:१३ आइतबार





