१५ पुस २०८२ मंगलबार
image/svg+xml
समाज

‘बाघ गणनामार्फत विस्तृत अध्ययन गर्न सक्छौँ’

बाघ गणनाको उद्घाटन गर्दै वन तथा वातावरण मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्मा। तस्बिर: निर्मल/नागरिक

बुधबारदेखि बर्दिया राष्ट्रिय निकुञ्जको मुख्यालय ठाकुरद्वाराबाट बाघ गणनाको औपचारिक सुरुवात गरिएको छ। बर्दिया र बाँके निकुञ्जमा आश्रित पाटे बाघको यकिन तथ्यांक तीन महिनाभित्र आइसक्ने निकुञ्जको आँकलन छ।

बाघ गणना अवसर मात्र नभइ यसभित्र बाध्यता लुकेर रहेको वन तथा वातावरण मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्माले बताए। उनका अनुसार बाघको गणनाबाट सबै किसिमका तथ्यांक र ईकोलोजिक अवस्थाको विस्तृत अध्ययन गर्न सकिने छ।  

संसारभरमा १३ वटा देशमा मात्र बाघ पाइने उल्लेख गर्दै अति दुर्लभ वन्यजन्तु बाघ भएकाले बाघ गणना गर्दा यसको नतिजाबाट दिगो संरक्षणका लागि मार्ग प्रशस्त हुने उनको भनाइ छ। ‘प्रोटक्ट नेचर, प्रोक्टेक्ट अल भन्ने हो,’ उनले भने, ‘हामीले सबै प्रकारका प्रकृतिको संरक्षण गर्न जरुरी छ, चाहे त्यो पुतली होस् वा माटो।’

पछिल्लो समय निकुञ्जको कोर क्षेत्रभन्दा बाहिर बाघको आवागमनले मानव र वन्यजन्तुबिच द्वन्द्व भइरहेको छ। बस्ती नजिकमा बस्ने बाघले मानिसलाई आक्रमण गर्ने प्रवृत्ति बढ्दै गएपछि बस्ती त्राहिमाम छ।

चार वर्षमा गरिने बाघ गणनालाई अडिटका रूपमा लिने गरेको वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक बेदकुमार ढकालले बताए। उनका अनुसार लगातार संरक्षणमा धेरै खर्च हुने भएकाले बाघ गणनामा लगानी सदुपयोग भयो कि भएन भन्ने गणनाबाट हिसाब निकाल्न सजिलो हुन्छ। ‘सेफ्टी फस्ट भएकाले पहिला मानवको मूल्यमान्यतालाई प्राथमिकतामा राखेर काम गर्छौँ,’ उनले भने, ‘कहिलेकाहीँ घट्ने घटनालाई दुर्घटना सम्झनुको विकल्प छैन।’ धेरैलाई जोगाउन भनेको बाघलाई बचाउनु हो भन्ने नै हो। बाघलाई बचाउँदा यसका आहारा प्रजातिलगायत सारा जोगिएको बुझ्नु पर्ने उनको भनाइ छ।  

बाघ गणनाका लागि दक्ष जनशक्ति परिचान गरिने बर्दिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक रामले बताए। निकुञ्ज क्षेत्रभित्र पर्ने दाङ जिल्लामा एउटा बल्क राखिने भएको छ। बाघ गणनामा खटिने  प्राविधिकलाई थप तालिमको प्रबन्ध मिलाइएको निकुञ्जले जनाएको छ।

बाघ गणनाको ६ वटा बल्क राखिएको छ। दुवै साइडबाट ४ सय ५० क्यामेराले बाघको तस्बिर कैद गर्ने निकुञ्जको भनाइ छ। दुवै साइडको बाघको पाटा हेरेर मात्र यकीन तथ्यांक निकालिने छ।  

बाघ गणनाको उद्घाटन वन तथा वातावरण मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्माले गरे। बर्दिया निकुञ्ज बाहेक खाता जैविकमार्ग र आसपासका क्षेत्रमा बाघको गणना हुने भएकाले क्यामराको चोरी हुने जोखिम बढेको कर्मचारीको भनाइ छ। बाघ गणना २१ दिनसम्म चल्ने छ। बर्दियामा १ सय २५ वटा बाघ छन्। बाघको संख्या बढेसँगै मानव र वन्यजन्तु द्वन्द्व बढ्दा संरक्षणमा चुनौती समेत बढेको छ। सडक दुर्घटना, चोरी शिकारी, मानव र वन्यजन्तु द्वन्द्व कायम रहँदा बाघ संरक्षण चुनौतीको रूपमा देखिएको छ।

निकुञ्जका अनुसार ५६ जना निकुञ्ज कर्मचारी बाघ गणनामा परिचालित हुँदै छन्। बाहिरी घेराबाट निकुञ्ज सुरक्षाका लागि खटिएका सेना परिचालन गरिने छ। तीन वटा हात्तीको परिचालन गरिने निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोकरामले बताए।

प्रकाशित: ९ पुस २०८२ १९:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App