स्पिनर सन्दीप लामिछानेले अस्ट्रेलियन बलर मिचेल स्टार्कको कीर्तिमान भंग गरेको दिन नेपालले आइसिसी विश्वकप लिग–२ को त्रिकोणात्मक शृंखलामा स्कटल्यान्डमाथि जित निकालेको छ।
कीर्तिपुरमा सोमबार भएको खेलमा स्पिनरद्वय सन्दीप र ललितनारायण राजवंशी चम्किँदा नेपालले स्कटल्यान्डमाथि ६ विकेटको जित निकाल्दै लिग–२ को अंकतालिकामा शीर्ष चार होड जीवन्त राखेको छ। लिग–२ को अंकतालिकामा स्कटल्यान्ड र अमेरिका शीर्ष दुई स्थानमा छन्। यही टोली सम्मिलित शृंखलामा नेपालले तीन खेलबाट दोस्रो जित आत्मसात् गर्यो। नेपालले २७ खेलबाट २२ अंक छ। आठ राष्ट्र सम्मिलित लिग–२ को अंकतालिकामा नेपाल पाँचौं स्थानमा उक्लिएको छ। साथै नेपालले नामिबिया र क्यानडालाई पछि पारेको छ। नामिबियाको २८ खेलबाट २२ अंक र क्यानडाको २४ खेलबाटै २१ अंक छ। शीर्ष चारभित्र अटाउन नेपाल अझै चार अंकले पछाडि छ।
चौथो स्थानको नेदरल्यान्ड्सको २४ खेलबाट नै २८ अंक छ। नेदरल्यान्डको भ्रमणअघि शीर्ष दुई टोलीमाथि नेपाललाई आत्मबल प्रदान गर्नेछ। यसअघि शृंखलाको पहिलो खेलमा भने नेपाल स्कटल्यान्डसँग दुई रनले पराजित भएको थियो। दोस्रो भेटमा भने नेपालले स्कटल्यान्डमाथि जित रच्यो। नेपालको जितमा स्पिनरद्वय सन्दीप र ललितले संयुक्त सात विकेट लिए। सन्दीपको नाममा तीन विकेट रह्यो। उनले अस्ट्रेलियन तीव्र गतिका बलर स्टार्कको छिटो १५० विकेटको कीर्तिमान पछि पारे। स्टार्कले ७७ खेलमा पूरा गर्दा सन्दीपले ७३ खेलमै सफलता पाए। त्रिवि क्रिकेट मैदानमा स्कटल्यान्डले १९५ रनको सामान्य लक्ष्य दिएको थियो। तर नेपालले ३८.१ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य भेट्टायो।
नेपालले पहिलो विकेटका लागि ५८ रनको मध्यम साझेदारी पायो। ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेलबीच तालमेलको अभावमा पहिलो विकेट गुम्यो। आसिफ २९ रनमा रनआउट भए। खातामा थप एक रन जोड्दा कुशल (२८ रन) पनि पभेलियन फर्किए। २७ बलमा कुशलले चार चौका र एक छक्का प्रहार गरे। १७ बल खेलेका आसिफको इनिङमा तीन चौका र दुई छक्का रह्यो। ७.२ ओभरमा नेपाल ५९/२ को अवस्थामा थियो। कुशल र आसिफले अमेरिकाविरुद्ध १४५ रनको बलियो साझेदारी गरेका थिए। स्कटल्यान्डसँगको दोस्रो खेलमा भने तालमेल राम्रो हुन सकेन। तर, तेस्रो विकेटका लागि कप्तान रोहितकुमार पौडेल र ईशान पाण्डेले १०४ रनको शतकीय साझेदारी गर्दै जितको आधार बनाए। ईशान दोस्रो एकदिवसीय खेलमै अर्धशतक बनाउन सफल भए।
अघिल्लो खेलमा अमेरिकाविरुद्ध उनले डेब्यु गरेका थिए। ईशान ६१ बलमा ५५ रनमा आउट भए। उनको इनिङमा पाँच चौका र दुई छक्का रह्यो। २९.५ ओभरमा नेपाल १६३/३ को अवस्थामा थियो, जति बेला नेपाललाई जितका लागि ३२ रनका आवश्यक रह्यो। तर लयमा रहेका उपकप्तान दीपेन्द्रसिंह ऐरी २ रनमै आउट भए। यद्यपि कप्तान रोहित र आरिफ शेखले पाँचौं विकेटका लागि ३२ रनको अविजित साझेदारी गर्दै जित दिलाए। रोहितले छक्का प्रहार गर्दै ७१ बलअगावै जित सुरक्षित गरे।
उनी ७४ रनमा र आरिफ ८ रनमा अविजित रहे। रोहितले ९८ बलमा ५ चौका र दुई छक्का प्रहार गरे। स्कटल्यान्डको बलिङमा मार्क वाटले दुई विकेट लिँदै नेपाललाई दबाब दिने प्रयास गरे। ब्रेन्डन म्याकमुलनको नाममा एक विकेट रहँदा नेपालले एक विकेट रनआउटको रूपमा गुमायो। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्ड ३९.१ ओभरमा सबै विकेट गुमाएर एक सय ९४ रनको योगफलमा अलआउट भयो।
खराब सुरुआत पाएको स्कटल्यान्डका लागि म्याकमुलेनले ७३ रनको अर्धशतकीय इनिङ खेले। यो नै ठूलो व्यक्तिगत स्कोर रह्यो। म्याकमुलनले ४४ बलमा ६ चौका र ६ छक्का हिर्काए। उनले दोस्रो विकेटका लागि ओपनर जर्ज मुन्सेसँग ४९ रनको साझेदारी गरे। मुन्से ३१ बलमा २१ रनमा आउट भए। दीपेन्द्रले ओपनर फिन्ले म्याककृथलाई ६ रनमा आउट गर्दै राम्रो सुरुआत दिलाए।
मध्य क्रमका ब्याटर माइकल इङ्लिस ७२ बलमा ५१ रन बनाएपछि पाहुना टोली दुई सय रनको योगफल नजिक पुगेको हो। स्पिनर ललितले उनलाई आउट गर्दै दसौं विकेट लिएका थिए। इङ्लिसले चार चौका र एक छक्का हिर्काए। मार्क ३४ बलमा २० रनमा आउट भए। नेपालको बलिङमा ललितले चार, सन्दीपले तीन तथा नन्दन यादव, सोमपाल कामी र दीपेन्द्रले समान एक विकेट लिए। नेपालले शृंखलाको अन्तिम खेल शुक्रबार अमेरिकासँग खेल्नेछ।
प्रकाशित: ५ जेष्ठ २०८३ ०६:३१ मंगलबार





