८ माघ २०८२ बिहीबार
image/svg+xml
समाज

उदयपुरमा जङ्गली हात्तीको आतङ्क

१२ घर परिवारमा क्षति

हात्तीले क्षति गरेको स्थानीयको भान्सा घर ।

उदयपुरमा जङ्गली हात्तीले आतङ्क मच्चाएको छ । सोमबार राति गाउँ पसेको हात्तीको समूले मङ्गलबारसम्म गाउँमा आतङ्क मच्चाएको थियो ।  

५–६ वटाको समूहमा रहेका फरक फरक ठाउँबाट गाउँ पसेका हात्तीको हुलले त्रियुगा नगरपालिका ५ बेलचौरी, ६ नं. को मोहनपुर तथा ७ नं. को चकलघाटक्षेत्रमा व्यापक हानी नोक्सानी गरेको स्थानीयलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । हात्तीहरुले स्थानीयको घर तथा भान्साघर भत्काउनुका साथै अन्नपात, खानेपानीको पाइपसमेत नष्ट गरिदिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले  जनाएको छ ।  

हात्तीले त्रियुगा नगरपालिका ५ बेलचौरीकी ३७ वर्षीया रेवती सदाको घर भत्काएर १० हजारभन्दा बढीको क्षति गरिदिएका छन् । त्यस्तै सोही स्थानकी ४१ वर्षीया बृहस्पती सदाका ५ हजार बराबरको अन्नपात नष्ट गरिदिएका छन् भने ६४ वर्षीया बृद्ध विजय सदाको २ हजार बराबरको अन्नपात खाई नष्ट गरिदिएको छ ।  

सोही ठाउँका ७७ वर्षीय गणेश बुढाथोकी, रुद्र पोखरेल, ४५ वर्षीय विष्णु भुजेल, ६४ वर्षीया मनकुमारी राईको घर तथा भान्साघर भत्काइ क्षति गरेको प्रहरीले जनाएको छ । बुढाथोकीको ५ हजार बराबर, भुजेल र राईको पनि हात्तीले ५–५ हजार बराबरको धनमाल क्षति गरेको प्रहरी भनाई छ ।  

हात्तीले सबभन्दा बढी त्रियुगा नगरपालिका ६ मोहनपुरकी ५५ वर्षीया बिन्दा परियारको २० हजार बराबरको क्षति गरिदिएको छ । त्यसैगरि सोही ठाउँका ५२ वर्षीय राजन कार्कीको १६ हजार बराबरको, ४९ वर्षीय मानबहादुर बिकको १२ हजार बराबरको, त्यहीँकी ४३ वर्षीया गङ्गामाया कार्कीको १० हजार बराबको क्षति गरदिएको छ । त्रियुगा नगरपालिका ७ चकलघाटकी ७८ वर्षीया नर्बदा कार्कीको पनि हात्तीले ८ हजार बराबरको क्षति गरेको छ ।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी केदारमान दोङले १२ घर परिवारको १ लाख ४० हजारभन्दा बढी मूल्य बराबरको क्षति पुर्‍याएको बताएका छन् । तीनै ठाउँ पसेर विध्वंश गर्न थालेका हात्तीलाई स्थानीयले नेपाल प्रहरीको सहकयोग लिएर बुधबार विहानदेखि दिउँसोसम्ममा बल्ल जङ्गलतर्फ लखेट्न सफल भएको डिएसपी दोङले बताएका छन् ।  

विगतमा यी क्षेत्रमा कहिल्यै नछिरेको हात्ती यसवर्ष गङ्गलबाट एक्कासी गाउँ छिरेर बिध्वंश मच्चाएको प्रत्यक्षदर्शी मीना राउतले बताईन् । उनका अनुसार चुरे जङ्गलसँग जोडिएको गाउँ भएकाले हात्तीहरु सहजै जङ्गलबाट बस्ती छिरेर उट्पट्याङ गर्दै घर तथा भान्सा कोठाहरु भत्काएर खानेकुरा खाईदिने, अन्नपात र फलफूल खाने भाँच्ने गरेर क्षति गर्ने गरेको स्थानीय मीना राउतले बताईन् ।

यता २ दिनसम्म बिझाई गरेका हात्ती स्थानीयले धपाए पनि उदयपुरगढीतर्फ गएकाले उता त्रास फैलिएको छ । त्यहाँबाट धपाइएका हात्तीहरु उदयपुरगढी गाउँपालिकाको ६ र ८ नं. वडामा पर्ने नेपालटार तथा ७ नं. का भलायडाँडा, हाडेबास, मइन्टारलगायत बस्ती जोडिने चुरे जङ्गलतर्फ  पसेको खवर आएकाले सतर्क रहन जनप्रतिनिधिले आग्रह गरेका छन् ।  

उदयपुरगढी ७ का वडाध्यक्ष भुवन केप्छाकी मगरले त्रियुगाका विभिन्न ठाउँमा बिझाई गरेका हात्ती स्थानीय र प्रहरीले धपाउँदा आफ्नो गाउँबस्तीतर्फ पसेको जानकारी आएको भन्दै सबैलाई सतर्क भएर बस्न, एकठाउँमा भेला जम्मा हुन, विशेषगरि राति चनाखो हुन र सुरक्षाकर्मी तथा जनप्रतिनिधिलाई खवर गर्न आग्रह गरेका छन् । 

प्रकाशित: ९ पुस २०८२ १९:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App