यही माघ १६ गतेबाट रिलिज हुन लागेको फिल्म ‘आ बाट आमा’ को ट्रेलर सार्वजनिक भएको छ। निर्माण टिमले काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि ट्रेलर रिलिज गरेको हो।
ट्रेलरमा नेपालको पछिल्लो समसामयिक घटना प्रस्तुत गरिएको छ। नेपालमा कुनै अवसर नपाएपछि भविष्य बनाउन परदेशिन लागेको छोरा र अभिभावकले सन्तानप्रति गरेको माया पर्दामा उतारिएको छ। जहाँ आमा विपना थापा बनेकी छन् भने बुबा भारतीय वरिष्ठ कलाकार प्रदीप रावत बुबा बनेका छन्। साथै छोराको भूमिकामा अभिनेता पल शाह देखिएका छन्। उनीहरूबीचको गहिरो सम्बन्ध ट्रेलरमै महसुस गर्न सकिन्छ।
ग्रामीण परिवेशका आमाबाबु र सन्तान बीचको भावनात्मक सम्बन्ध केन्द्रमा राखेर फिल्मका निर्देशक चन्द्र पन्तले कथा बुनेका छन्। यसको स्लोगनमा ‘बा आमाले परिश्रमले घर बनाउनुभयो, हामीले रहर र बाध्यताले पासपोर्ट बनायौं’ भन्ने कुराले बाध्यताले विदेशिएका नेपालीको कथा फिल्मले बोल्छ।
साथीहरूले स्कुलमा पढाउदै गर्दा अस्ट्रेलिया जान उक्साउँछन्। त्यसैको लहैलहैमा अस्ट्रेलिया जान्छ। यसैको वरिपरि कथा ट्रेलरमा घुमेको देख्न सकिन्छ।
ट्रेलरमा फिल्मका सबै मुख्य कलाकारलाई देख्न सकिन्छ।
निर्देशक चन्द्र पन्तकै लेखन तथा पटकथा रहेको यस फिल्ममा विपना थापा, पल शाह, प्रदीप रावत, विशाल पहाडी, रवीन्द्र झा, साइग्रेस पोखरेल, सिम्रन पन्त, गजित विष्ट, हेमराज अधिकारी (खनत्या खलास), उषा उप्रेती, दिलिप अखेडा लगायतले अभिनय गरेका छन्।
ध्रुव न्यौपाने, प्रकाश कुँवर र क्षितिज ढुङ्गाना निर्माता रहेको यस फिल्ममा कार्यकारी निर्माता कृष्णप्रसाद सुवेदी र ओमकार पन्त हुन्।
आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो फिल्मको डिओपीमा नवराज उप्रेती छन्। फिल्मको संगीतमा कोसिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतम छन्। फिल्मको प्रदर्शन अधिकार भने आरआर फिल्मस्ले गर्दैछ। फिल्मको डिजिटल अधिकार ओएसआर डिजिटलले लिएको छ।
प्रकाशित: ८ माघ २०८२ १०:५४ बिहीबार





