डा. चन्द्रकान्त राउत नेतृत्वको जनमत पार्टीले हिसाबकिताब नदिने बताएपछि पार्टीका राष्ट्रिय कोषाध्यक्ष सुरेन्द्र नारायण यादवविरुद्ध कानूनी प्रक्रियामा गएको बताएको छ।
'तत्कालीन कोषाध्यक्ष सुरेन्द्र नारायण यादवलाई एकैचोटी कानूनी प्रक्रियामा लगिएको होइन। विगत वर्ष दिनभन्दा बढी समयसम्म पटक-पटक कोष, लेभी र घरको हिसाब दर्जनौं पटक मागेपछि पनि नदिँदा, विदेशमै गएर सेटल भएर बसिदिँदा र पछि पार्टीको घर पार्टीको नाममा ट्रान्सफर गर्न भन्दा गालीगलौच गर्दै म दिन्नँ, जनकपुरधामको मधेश आश्रम पनि म आफ्नै श्रीमतीकै नाममा नै राख्छु, कसैलाई दिन्नँ, इमाडोलको घर पनि म आफ्नै श्रीमतीको नाममा नै राख्छु, कसैलाई दिन्नँ, कोटेश्वरको प्रवासी होटलको विषयमा पनि म केही गर्दिनँ, कसैको पैसा पनि फिर्ता गर्दिनँ, हिसाब पनि दिन्नँ, जे गर्नु छ गर भनेर भनेपछि दिएको हदम्याद गुज्रेपछि कानूनी प्रक्रियामा गइएको हो,' प्रवक्ता डा. शरदसिंह यादवद्वारा सोमबार (आज) जारी विज्ञप्तिमा भनिएको छ।
यसअघि आइतबार (हिजो) राजविराजबाट कोषाध्यक्ष यादव पक्राउ परेका थिए। उनीविरुद्ध पार्टीकै नेताहरूले जाहेरी दिएका थिए। उनी पक्राउ परेपछि राष्ट्रिय उपाध्यक्ष दीपक कुमार साहले १० बुँदे धारणा सार्वजनिक गर्दै सुरेन्द्र नारायण यादवलाई अनाहकमा पक्राउ गरिएको बताएका थिए।
'करोडौं खर्चेर जनकपुरमा निर्माण गरिएको घरपछि पनि समानुपातिक सूचीमा समावेश गराउन उहाँ (सुरेन्द्र यादव) सँग रू. ५० लाख मागिनु अत्यन्तै दुखद् र अपारदर्शी व्यवहार हो,' साहले भनेका छन्।
पार्टीले साहको भनाइको पनि खण्डन गरेको छ। पार्टी फुटाउन स्कोर्पियो गाडी र भारी रकम अन्य स्रोतबाट बुझेको, जासुसको रूपमा पार्टीमा खटिएको, सरूवा-बढुवा गरिदिने भन्दै भारी पैसा उठाएको, पार्टीमा गुटबन्दी गरेको, पार्टीलाई एउटा भोटसमेत नहालेको, निर्वाचन प्रचारप्रसारमा नखटेको र पार्टीविरुद्ध षडयन्त्र गर्दै आएको आरोप पार्टीले लगाएको छ।
'दीपक कुमार साह अनुशासन कारबाही भई निलम्बित अवस्थामा रहेको छन्। उहाँ आफैँ पार्टीको लेटरहेड प्रयोग गरी देशविदेशमा विभिन्न लाभ लिएको तथा इमेल पठाइ इन्जिनियर, डाक्टर, आप्रवासी नेपाली तथा अन्य व्यवसायीबाट पैसा उठाउँदै गरेको, सो लेभी पार्टीलाई नबुझाएको र सोको हरहिसाबसमेत कहिले पनि नदिएको विषयमा पनि थप छानबिन हुँदैछ। साथै उहाँले आफ्नै खातामा पनि बुझेको लेभी रकमहरूको विषयमा पनि भ्रष्टाचार अनुसन्धान हुँदैछ,' विज्ञप्तिमा भनिएको छ।


प्रकाशित: ८ वैशाख २०८२ २०:११ सोमबार





