राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारका कारण संविधानप्रदत्त अधिकारको उपभोग गर्न पाउने अवस्था बन्दै गएको बताएको छ।
आइतबार (आज) बसेको आकस्मिक कार्यसम्पादन समितिको बैठकले यस्तो निष्कर्ष निकालेको हो। 'सरकारको रवैयाले स्वतन्त्रतापूर्वक हिँडडुल गर्न पाउने, राजनीतिक गतिविधि गर्न पाउने र अभिव्यक्ति स्वतन्त्रताको संविधानप्रदत्त अधिकार कुण्ठित भएको छ,' बैठकपछि प्रवक्ता मोहन श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
संविधानप्रदत्त अधिकारको उपभोग गर्ने क्रममा बाधा-अवरोध गरिएक सशक्त प्रतिवादमा उत्रने राप्रपाको चेतावनी छ। 'राप्रपाले आगामी दिनमा थप सशक्त ढंगबाट विरोध र प्रतिवाद गर्नेछ,' त्यहाँ भनिएको छ।
त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार सरकार हुनुपर्ने पनि राप्रपाले भनेको छ।
राप्रपाले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङ, नेता ज्ञानेन्द्र शाहीलगायतको रिहाइ यथाशीघ्र हुनुपर्ने मागसमेत गरेको छ।
प्रकाशित: ७ वैशाख २०८२ १७:४७ आइतबार





