११ पुस २०८२ शुक्रबार
image/svg+xml
राजनीति

नेतृत्व हस्तान्तरणको प्रश्नमा दाहाल आक्रोशित: तपाईँको प्रश्नले तानाशाहलाई मद्दत गर्छ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेतृत्व हस्तान्तरणबारे पत्रकारले सोधेको प्रश्नमा आक्रोश व्यक्त गरेका छन्। बिहीबार रुपन्देहीमा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै दाहालले आफू कार्यकर्ताले रुचाइएका कारण ३५÷३६ वर्ष नेतृत्वमा रहेको दाबी गर्दै आक्रोश पोखेका हुन्। 

‘म नेपालको कम्युनिस्ट आन्दोलनमा झन्डै ३५÷३६ वर्षदेखि नेतृत्वमा छु। तर, म लगातार कार्यकर्ताद्वारा, जनताद्वारा रुचाइएका कारण छु म। आफ्नो विचारप्रति समर्थनका कारणले छु,’ दाहालले भने, ‘जबसम्म त्यो परिस्थिति रहिराख्छ र मैले देश र जनताका लागि केही योगदान गरिराखेको हुन्छु ।’ 

त्यसपछि पत्रकारसँगै दाहालले आफूलाई हटाउन किन प¥यो भन्दै प्रश्न तेर्स्याए। ‘मलाई हटाउनुपर्ने आवश्यकता तपाईंहरुलाई किन प¥यो? मेरो प्रश्न। म हटाएपछि गणतन्त्र सुदृढ हुन्छ? अर्को आउने बित्तिकै राम्रो हुन्छ भन्ने ज्ञारेन्टी छ?,’ दाहालले प्रतिप्रश्न गर्दै भने। 

उनले पत्रकारको प्रश्नमा भ्रम रहेको भन्दै आफू असहमत रहेको सिधै बताए। उनले भने, ‘तपाईँहरूले राखेको कुरासँग म र मेरो दल सहमत छैन। तपाईँहरूको दिमागमा धेरै भ्रमहरू रहेछन् भन्ने आशय मैले बुझ्ने अवसर प्राप्त गरेँ। तर तपाईँहरूले सिधा सीधा राखेकामा धन्यवाद।’ 

अध्यक्ष दाहालले राजनीतिक दल र नेतृत्वबारे पत्रकारले सोधेका कुरा ‘अहिले बजारमा चलिरहेको हावाहुरी जस्तै’ भन्दै टिप्पणी गरे। ‘तर, यथार्थ त्यस्तो होइन। राजनीतिक दलहरू निश्चित विचार, दर्शन, राजनीतिक कार्यक्रमबाट सञ्चालित हुन्छन्,’ उनले भने।  दलहरूले संविधान, कानुन र विधानअनुरूप निर्वाचन, अधिवेशनबाट नेतृत्व चयन गर्ने पनि उनले बताए। 

जसमा नेतृत्व फेरिन पनि सक्ने र त्यही प्रमुख नेतृत्व निरन्तरता पाउन पनि सक्ने दाहालले बताए। उनले भने, ‘तर राजतन्त्रमा त्यस्तो हुँदैन। राजतन्त्र वंशवादमा आधारित सिद्धान्तमा टेकेर बनेको छ। त्यहाँ कुनै क्षमता प्रदर्शन, प्रतिस्पर्धा गर्नु पर्दैन। अधिवेशनबाट चुनिन नि पर्दैन। तर राजनीतिक दलभित्र त्यो अभ्यास हुन्छ।’ 

नेतृत्वले आफूलाई समय परिवेशअनुसार सक्षम साबित गर्दासम्म विचार, सक्रियता र क्षमताद्वारा त्यो नेतृत्व कायम रहनु राजनीतिक दलको, देशको र लोकतन्त्रको पनि हितमा हुने दाहालको दाबी छ। 

अहिले एउटा वर्गका लागि आफू आँखाको कसिङ्गर भएको उनले दाबी गरे।  ‘जो निरङ्कुश छ, जो तानासाही चरित्रको छ। उसको लागि प्रचण्ड आँखाको कसिङ्गर भएको छ,’ उनले भने,‘तपाईँ पत्रकार साथीहरूले पनि यो कुरा नबुझेर कति तँ मात्रै बसेको भन्नुभयो भने प्रकारान्तरले तपाईँको नियतमाथि मलाई शङ्का छैन। तपाईँहरूले तानाशाहलाई नै मद्दत गरेको हुन्छ। तपाईँले यो कुरा किन नबुझेको ?’

प्रकाशित: ४ वैशाख २०८२ १३:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App