हिजो (शुक्रबार)को संसदीय समितिमा सांसद जीवन परियारले पूर्वराजा ज्ञानेन्द्र शाहलाई संसदीय समितिमा बोलाउनुपर्नेमा जोड दिएका थिए। गत चैत १५ गते राजावादीले मच्याएको अमानवीय वितण्डाका बारेमा पूर्वराजा शाहलाई बोलाउनु पर्ने विषयमा भएको छ्लफलमा परियार लगायतका सांसदले एक मत राखेका थिए।
सो क्रममा वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले आज आफ्नो फेसबुकमा लामो स्टाटस लेख्दै पूर्वराजा शाहलाई संसदीय समितिमा बोलाउन नमिल्ने बताएका छन्। उनले पूर्वराजाको कानुनी हैसियत केवल एक नागरिकसरह भएकाले त्यो विषयमा संसदीय समितिले उनलाई सिधै बोलाउन सक्ने कुरा छलफल योग्य नै भए पनि बोलाउन नमिल्ने तर्क गरेका छन्।
अधिवक्ता भट्टराईले चार बुँदामा कारण दिँदै लेखेको उनको स्टाटस यस्तो छ:
पूर्वराजालाई संसदीय समितिमा बोलाउन मिल्छ?
हिजोको संसदीय समितिमा गत चैत्र १५ गते राजावादीले मच्याएको अमानवीय वितण्डा बारेमा ज्ञानेन्द्र शाहलाई बोलाउनु पर्ने विषयमा भएको छ्लफल र माननीय जीवन परियार लगायतले राख्नु भएको मतको सम्मान गर्नु पर्दछ।
पूर्वराजाको कानुनी हैसियत केवल एक नागरिक सरह भएकोले त्यो विषयमा संसदीय समितिले उनलाई सिधै बोलाउन सक्ने कुरा छफल योग्य नै हो तर मेरो विचारमा
संसदीय अभ्यास र मूल्य मान्यताका आधारमा त्यसो गर्न मिल्दैन किन?
१. उनी केवल नागरिक हुन्, संसद नागरिकप्रति उत्तरदायी हुन्छ र सरकार जनताप्रति जवाफदेही हुन्छ।
२. संसदले कार्यकारी अधिकार नभएको एउटा नागरिकलाई सिधै संसदमा बोलाउन मिल्दैन त्यसो गरिएमा स्वयं संसदीय गरिमाको मूल्य मान्यातामा प्रश्न उठ्छ।
३. कार्यकारी अधिकार सरकारमा भएको हुनाले त्यो वितण्डामा पूर्वराजाको संलग्नताको मात्रा अनुसार करबाही गर्ने दायित्व सरकारको हो।
किन कारबाही भएन बनेर प्रधानमन्त्री र गृहमन्त्रीलाई संसद्ले जवाफदेही बनाउन सक्छ तर एउटा नागरिकलाई सिधै संसदमा बोलाउन मिल्दैन। त्यसको एउटा अपवाद छ संसदको विशेषाधिकार हनन भएको र महाअभियोगको प्रश्न उठेको अवस्थामा भने संसदले सर्वसाधारण नागरिकलाई पनि झिकाउन सक्छ।
४. पूर्वराजालाई संसदमा बोलाउने कुराले उनैको महत्व र गरिमा बढ्ने र उनी कार्याकारी अधिकार प्राप्त व्यक्ति हुन् भन्ने संदेश सम्प्रेषण हुन्छ र यसले संसदीय व्यवस्थाको मूल्य मान्यतामा समेत ह्रास आउँछ।
तसर्थ उनलाई होइन यो प्रकरणमा सरकारले उनलाई अहिलेसम्म किन कारबाही नगरेको भनेर सरकारलाई जवाफदेही बनाऔं।
संसदीय समितिमा त्यो विषय उठाउने माननीय जीवन परियारलाई त्यो समाचार प्रकाशित गर्ने सेतो पाटी अनलाइनको समाचारमा टिप्पणी गर्ने क्रममा जे जस्तो निम्न स्तरको गाली गलौज गरिएको छ त्यो निन्दनीय र खेद जनक छ। त्यस्तो गाली गलौजमा संग्नलाई भने संसदीय समितिले आफैँ छानबिन गरी आफैँ दण्ड जरिवाना गर्न वा सरकारलाई निर्देशन दिन सक्छ।
आजै बिहान माननीय जीवन परियार सङ हामी भुइँ मान्छेको शनिबारे भेट हुने सर्बहारा चिया पसलमा भेट भयो र यो विषयमा विस्तृत कुराकानी पनि भएको छ। यो बहसमा सबैलाई स्वागत छ।
प्रकाशित: ३० चैत्र २०८१ १३:५९ शनिबार





