ज्येष्ठ नागरिक भवन निर्माणमा अनियमितता गरी सरकारी रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्वतको कुश्मा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले बिहीबार विशेष अदालत काठमाडौंमा कुश्मा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कुमानसिंह गुरुङ, लेखा अधिकृत कृष्णप्रसाद शर्मा, इन्जिनियर आशिष शाक्य र निर्माण व्यवसायी लालबहादुर मल्लविरुद्ध आरोपपत्र दायर गरेको हो।
कुश्मा नगरपालिका-७ खरेहामा निर्माणाधीन ज्येष्ठ नागरिक भवनको काम अलपत्र पारी ठेकेदार र कर्मचारीको मिलेमतोमा १ करोड १३ लाख ४४ हजार २१६ रुपैयाँ हिनामिना गरेको अख्तियारको ठहर छ।
आर्थिक वर्ष २०७८/७९ मा सङ्घीय सरकारको विशेष अनुदान अन्तर्गत विनियोजित बजेटबाट भवन निर्माणका लागि मल्ल कन्स्ट्रक्सन एण्ड सप्लायर्ससँग ९६ लाख ३० हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो।
तर, निर्माण व्यवसायीले काम नै नगरी अलपत्र पारेको अवस्थामा पनि कर्मचारीसँगको मिलेमतोमा भुक्तानी लिएको पाइएको छ।
अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार काम नसकी सम्पर्कविहीन भएका ठेकेदारको बैंक जमानत जफत गर्नुपर्नेमा म्याद गुज्रिन दिई उल्टै थप भुक्तानी दिइएको थियो।
साथै, पुरानो ठेक्काबाट असुल गर्नुपर्ने रकम असुल नगरी सोही कामका लागि नयाँ ठेक्का लगाएर राज्यलाई दोहोरो दायित्व सिर्जना गराई नोक्सानी पुर्याएको अनुसन्धानबाट खुलेको छ।
आयोगले प्रतिवादीहरूबाट बिगो असुल उपर गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र जरिवानाको मागदाबी गरेको छ।
प्रकाशित: १७ पुस २०८२ १७:३० बिहीबार





