२३ कार्तिक २०८३ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतमा ‘दिवाली’ का बेला भएका दुर्घटनामा २३ जनाको मृ`त्यु

दिवालीको खुसीयालीबिच भारतका विभिन्न राज्यमा भएका आगलागी तथा पटाकाजन्य दुर्घटनामा कम्तीमा २३ जनाको मृत्यु भएको छ।

घटनामा कैयौँ व्यक्ति घाइते भएका छन् भने राजस्थानको पालीमा भएको आगलागीपछि तीन जना बेपत्ता रहेको बताइएको छ।

यी घटनाको सबैभन्दा ठुलो असर मध्य प्रदेशमा परेको छ। कटनी र सिओनी जिल्लामा भएका दुई छुट्टाछुट्टै आगलागीमा एकै परिवारका ६-६ जनासहित १२ जनाको मृत्यु भएको छ। कटनीको बरहीमा भएको आगलागीमा दुई महिनाको शिशुसहित तीन बालबालिकाले ज्यान गुमाएका छन्। त्यस्तै, सिओनीको छपारा क्षेत्रमा भएको आगलागीमा १६ वर्षीय किशोरसहित परिवारका ६ जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। उज्जैनको नागझिरी क्षेत्रमा हार्डवेयर पसल र आवासीय भवनमा आगलागी हुँदा १०७ वर्षीय वृद्धको मृत्यु भएको छ।

महाराष्ट्रको धाराशिव जिल्लास्थित येडशी गाउँमा किराना पसल रहेको भवनमा आगलागी हुँदा एकै परिवारका ६ जनाको मृत्यु भएको छ। भवनको भुइँतलामा पसल र माथिल्लो तलामा परिवारको बसोबास थियो। त्यस्तै, मुम्बईको लोखंडवाला क्षेत्रमा शनिबार राति भएको आगलागीमा एक जनाको मृत्यु भएको छ भने डोंगरी क्षेत्रमा झुपडी र पसलहरू जलेका छन्। नागपुरको टीभीएस शोरुममा भएको आगलागीमा कैयौँ दुई पाङ्ग्रे सवारीसाधन जलेर नष्ट भएका छन्।

राजस्थानको पाली जिल्लास्थित फलना क्षेत्रमा पटाका पसलमा आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्। सडकमा पड्काइएका पटाकाको झिल्को पसलमा पुगेपछि आगलागी भएको प्रारम्भिक अनुमान छ। आगोले आसपासका तीन पसल र केही सवारीसाधनसमेत जलेका छन्। दिल्लीको नरेला क्षेत्रमा भने आतिशबाजीका क्रममा रकेट पटाका लागेर १० वर्षीय बालकको मृत्यु भएको छ।

यसैबिच, उत्तर प्रदेशको बांदास्थित कवाडी पसलमा आगलागी हुँदा २० देखि २५ लाख भारतीय रुपैयाँ बराबरको सम्पत्ति नष्ट भएको छ। जम्मूको नेहरु बजारमा पनि आगलागी हुँदा १२ भन्दा बढी पसल जलेका छन्। महाराष्ट्रको पुणेमा मात्रै दिवालीका दिन ६३ वटा आगलागीका घटना रिपोर्ट भएका छन्। त्यस्तै, सिक्किमको गान्तोकमा सरकारी आवासीय भवनमा आगलागी भएको छ।

दिवालीका अवसरमा भएका यी घटनामा पटाकाको झिल्को, दियो तथा अन्य कारणबाट आगलागी भएको प्रारम्भिक विवरणहरू सार्वजनिक भएका छन्। कतिपय घटनाको कारणबारे भने अनुसन्धान भइरहेको छ। एजेन्सी

प्रकाशित: २३ कार्तिक २०८३ १५:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App