२३ कार्तिक २०८३ सोमबार
image/svg+xml
राजनीति

माटोको सुवास बोकेका रैथाने उत्पादन देशैभरका भान्छामा पुग्नुपर्छ: सभामुख अर्याल

फाइल।

सभामुख डोलप्रसाद (डिपी) अर्यालले रैथाने बाली तथा स्थानीय उत्पादनको प्रवर्द्धन र बजारीकरणका लागि सरकारले नियमित रूपमा सहजीकरण गर्नुपर्ने बताएका छन्।

काठमाडौंको थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको बागमती प्रादेशिक कार्यालय परिसरमा आयोजित तीनदिने ‘रैथाने मेला’ को अवलोकनका क्रममा आज उनले यस्तो धारणा राखेका हुन्।

अवलोकनपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सभामुख अर्यालले किसानलाई उत्पादनसँगै प्रचारप्रसार र बजारीकरणमा समय दिन कठिन हुने भएकाले सरकारले बजार विस्तारमा अभिभावकीय भूमिका खेल्नुपर्ने खाँचो औंल्याए।

उनले यस्ता मेलालाई काठमाडौंमा मात्र सीमित नराखी देशका अन्य ठूला सहर तथा बजारहरूमा समेत विस्तार गर्नुपर्नेमा जोड दिए।

नियमित रूपमा मेला आयोजना हुँदा किसानले आफ्ना उत्पादन सिधै उपभोक्तासमक्ष पुर्‍याउन पाउने र नागरिकले पनि विभिन्न भूगोलका रैथाने उत्पादनबारे प्रत्यक्ष जानकारी पाउने उनको भनाइ थियो।

सभामुख अर्यालले खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङलगायतका सरकारी संस्थान तथा सञ्चारमाध्यमले किसानका उत्पादनलाई प्राथमिकताका साथ प्रवर्द्धन गर्नुपर्ने बताए।

काठमाडौं उपत्यकाका उपभोक्ताका लागि स्थानीय उत्पादन परिचित भए पनि बाहिरी तथा दुर्गम जिल्लाका उत्पादनको यस्तो प्रदर्शनीले नयाँ बजार र उपभोक्ता जोड्न ठूलो मद्दत पुग्ने उनले विश्वास व्यक्त गरे।

मेला अवलोकनका क्रममा सरकारी स्टलहरूमा समेत प्लास्टिकका झोला प्रयोग भएको भेटिएपछि सभामुख अर्यालले तत्काल त्यस्ता झोलाको प्रयोग बन्द गर्न निर्देशन दिए

साथै, उनले सरकारी उत्पादनहरूमा अधिकतम खुद्रा मूल्य (एमआरपी) अनिवार्य र स्पष्ट रूपमा उल्लेख गर्न सुझाव दिए।

नेपाली मौलिक संस्कृति, रैथाने उत्पादन तथा स्थानीय उद्यमशीलताको प्रवर्द्धन गर्दै स्वदेशी उत्पादनलाई बजारसँग जोड्ने उद्देश्यले शनिबारदेखि सुरु भएको तीनदिने मेला आज समापन भएको छ।

प्रकाशित: २३ कार्तिक २०८३ १५:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App