२३ कार्तिक २०८३ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चीनमा ट्रम्प, सी र पुटिनबिच त्रिपक्षीय भेटको तयारी, ट्रम्पले सुनाए छलफलका एजेन्डा

फाइल तस्बिर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी साता चीनमा हुने एसिया प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङ र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट्ने अपेक्षा गरेका छन्। 

उनका अनुसार भेटमा इरान युद्ध अन्त्य गर्ने र आणविक हतियार घटाउने विषयमा छलफल हुनेछ। आइतबार फ्लोरिडाबाट वासिङ्टन फर्कने क्रममा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले नोभेम्बर १८ र १९ मा चीनको प्रविधि केन्द्र सेन्जेनमा हुने सम्मेलनमा सहभागी हुने बताएका हुन्।

उनले भने, 'मलाई लाग्छ, राष्ट्रपति पुटिन र राष्ट्रपति सीसँग एउटा बैठक हुनेछ। त्यो रोचक हुनेछ। हामी आणविक हतियार घटाउनेसहित धेरै विषयमा छलफल गर्नेछौं। इरानमा जारी युद्ध अन्त्य गर्ने प्रयास पनि गरिरहेका छौं।'

ट्रम्पले यसअघि पनि सी र पुटिनसँग तीन देशबिच हतियार नियन्त्रणसम्बन्धी छलफल गर्न आफू तयार रहेको बताएका थिए। उनले यस्तो छलफलको मुख्य उद्देश्य आणविक हतियार घटाउनु हुने बताएका थिए।

यसैबिच, पुटिनले सम्भावित भेटलाई रूस र युक्रेनबिच जारी युद्ध अन्त्य गर्ने विषयमा छलफल गर्न प्रयोग गर्न चाहेको बताइएको छ। सन् २०२२ मा युक्रेनमाथि आक्रमण गरेपछि रूस र युक्रेनबिच युद्ध जारी छ।

ट्रम्पले हालै एक टेलिभिजन अन्तर्वार्तामा रूस-युक्रेन युद्ध अन्त्य गर्ने सम्झौता नजिक पुगेको दाबी गरेका थिए। उनले भनेका थिए, 'मलाई विश्वास छ, हामी रूस-युक्रेन युद्ध अन्त्य गर्ने सम्झौताको निकै नजिक छौं।' तर, सम्भावित सम्झौताका सर्तबारे उनले केही खुलाएका छैनन्।

तीन नेताबिच भेट भएमा यो महत्त्वपूर्ण कूटनीतिक घटना हुनेछ। तर, उनीहरूबिच कुन विषयमा कति सहमति हुन्छ भन्ने स्पष्ट छैन। तीनै देशका आ-आफ्ना स्वार्थ भएकाले ठोस सहमति हुन कठिन रहेको विश्लेषकहरूको भनाइ छ।

रूसका लागि भने यस्तो भेट अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो उपस्थिति बलियो देखाउने अवसर हुन सक्छ। युक्रेनमाथि आक्रमणपछि पश्चिमी देशहरूले रूसमाथि विभिन्न प्रतिबन्ध लगाएका छन्। अमेरिकी र चिनियाँ राष्ट्रपतिसँग एउटै मञ्चमा देखिनु पुटिनका लागि कूटनीतिक उपलब्धि हुन सक्ने विश्लेषण गरिएको छ।

यता, चीनले पनि यस्तो भेटबाट अन्तर्राष्ट्रिय स्तरमा आफ्नो प्रभाव देखाउन चाहेको छ। तर, युक्रेन युद्ध, आणविक हतियार र इरानको विषयमा चीनले कति सक्रिय भूमिका खेल्छ भन्ने अझै स्पष्ट छैन।

ट्रम्प यस वर्ष तेस्रो पटक चिनियाँ राष्ट्रपति सीसँग भेट्ने तयारीमा छन्। दुई देशबिच व्यापारसम्बन्धी तनाव कम गर्न भएको अस्थायी सहमति आगामी जनवरीमा समाप्त हुँदैछ। त्यसैले आगामी भेटमा व्यापार र आर्थिक विषयले पनि प्राथमिकता पाउने अपेक्षा गरिएको छ।

रूस-युक्रेन युद्ध अन्त्य गर्ने विषयमा पनि ट्रम्पले पुटिनसँग छलफल गर्न सक्ने सम्भावना छ। तर, युक्रेनलाई सहभागी नगराई हुने कुनै पनि छलफलले शान्ति प्रक्रियामा कस्तो प्रभाव पार्छ भन्ने प्रश्नसमेत उठेको छ।

चीनले यस वर्ष २१ सदस्य राष्ट्र रहेको एपेक समूहको शिखर सम्मेलन आयोजना गर्दैछ। यसमा अमेरिका र रूस पनि सदस्य छन्। 

प्रकाशित: २३ कार्तिक २०८३ १४:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App