नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले कोशी प्रदेश सरकारले पर्यटकीय गन्तव्यमा ताप्लेजुङलाई कम महत्त्व दिएको भन्दै ध्यानाकर्षण गराएका छन् ।
शुक्रबार प्रेस चौतारी नेपाल ताप्लेजुङले फुङलिङमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममार्फत भट्टराईले पर्यटकीय गन्तव्यमा ताप्लेजुङलाई कम महत्त्व दिएको भन्दै कोशी प्रदेश सरकारसँग गुनासो समेत गरे ।
‘प्रदेशको सबैभन्दा धेरै पर्यटकीय गन्तव्य ताप्लेजुङ रहेका छन्,यही ताप्लेजुङलाई कोशी प्रदेश सरकारले पर्यटकीय गन्तव्यहरू तोक्दा कम महत्त्व दिएकोमा दुःख लागेको छ’भट्टराईले भने । विश्वको तेस्रो नेपालको दोस्रो अग्लो हिमशिखर कञ्चनजङ्घा, कुम्भकर्ण हिमाल, प्रसिद्ध तीर्थस्थल पाथीभरा, सिङजेमा ताल,तिम्बुङ पोखरी,सोदु पोखरी, करिब ५ सय बर्ष पुरानो दिकीछ्योलिङ गुम्बा र पर्यटकीय महत्वको स्थान ओलाङचुङगोला,तोक्पेगोला जस्ता कयौँ पर्यटकीय गन्तव्य रहेकोले ताप्लेजुङ नै पर्यटकीय गन्तव्यको पहिलो क्षेत्र रहेको उनको दाबी थियो ।
यस्ता असंख्य पर्यटकीय गन्तव्य रहेको ताप्लेजुङ र यहाँ रहेका पर्यटकीय गन्तव्यप्रति कोशी प्रदेश सरकारको कम ध्यान गएको भट्टराईको आरोप थियो । तमोर नदी अत्यन्तै आकर्षक र्याफ्टिङ क्षेत्र रहेको र पदमार्गको हिसाबले नेपालकै एउटा आकर्षक मार्गको रुपमा कञ्चनजङ्घा पद मार्ग समेत रहेको विषयबाट प्रदेश सरकार जानकार विहीन हुनु दु:खद् रहेको रहेको उनको भनाई छ ।
यो सँगै ग्रेट हिमालयन ट्रेलको सुरुवात पनि ताप्लेजुङबाट नै हुने अवगत गराउँदै यस्ता पर्यटकीय गन्तव्य हुँदाहुँदै पनि कोशी प्रदेश सरकारले ताप्लेजुङलाई कम महत्त्व दिएको भन्दै यो बिषयमा पुर्नबिचार गर्न भट्टराईले कोशी प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रकाशित: २९ चैत्र २०८१ १७:४१ शुक्रबार





