११ पुस २०८२ शुक्रबार
image/svg+xml
राजनीति

जनमत-नाउपा एकीकरण: संरक्षक रेशम, अध्यक्ष सिके, सहअध्यक्ष रन्जिता

एकीकरण प्रक्रियामा जुटेका जनमत र नागरिक उन्मुक्ति पार्टी (नाउपा) का नेताले एकीकृत पार्टीको वरीयतामा पहिलो नम्बरमा रेशम चौधरी र दोस्रोमा सिके राउत रहने टुंगो लागेको बताएका छन्। नेताहरूका अनुसार पार्टीपंक्तिमा वरीयताको पहिलो नम्बरमा चौधरीको नाम रहने पनि कार्यकारी अध्यक्ष भने राउत नै हुनेछन्।

निर्वाचन आयोगले भने वरीयतामा कार्यकारी अध्यक्षलाई नै पहिलो मान्छ, संरक्षकलाई मान्दैन। ‘तर हामीले पार्टीको वरीयतामा पहिलो नम्बरमा रेशम चौधरीलाई नै राख्नेछौं। निर्वाचन आयोगले वरीयतामा कार्यकारी अध्यक्षलाई पहिलो मान्ने भए पनि पार्टीपंक्तिमा संरक्षक चौधरी नै पहिलो वरीयतामा रहनुहुनेछ,’ जनमतका प्रवक्ता शरत्सिंह यादवले भने।

यादव पार्टी एकीकरणका लागि जनमतले गठन गरेको कार्यदलका सदस्य पनि हुन्। ‘पार्टीको संरक्षक रेशम चौधरी, कार्यकारी अध्यक्ष सिके राउत र सहअध्यक्ष रन्जिता श्रेष्ठ’ रहने गरी एकीकरण प्रक्रिया टुंगो लागेको उनले बताए। उनका अनुसार वैशाख १५ गतेभित्रै औपचारिक रूपमा पार्टी एकीकरणको घोषणा हुनेछ।

नाउपाका उपमहासचिव राजन गुरुङले पनि एकीकृत पार्टीको पहिलो वरीयतामा चौधरी, दोस्रोमा राउत र तेस्रोमा श्रेष्ठ रहने गरी टुंगो लागेको बताए। ‘पहिलो वरीयतामा रेशम चौधरीकोको नाम आएन भने पार्टी एकीकरण हुँदैन। पहिलो वरीयतामा चौधरीलाई नै राख्न सिके राउत पनि पनि सहमत भइसक्नु भएको छ,’ गुरुङले भने।

उनका अनुसार नाउपा अध्यक्ष रन्जिता श्रेष्ठ एकीकृत पार्टीमा सहअध्यक्षको हुनेछिन्। उनी वरीयतामा तेस्रो नम्बरमा हुनेछिन्। ‘एकीकृत नाम नागरिक जनमत पार्टी र चुनाव चिह्न ढकिया रहने गरी टुंगो लागेको छ,’ गुरुङले भने।

गुरुङका अनुसार गत आइतबार बर्दियामा बसेको पार्टीका शीर्ष नेता तथा कार्यदलको संयुक्त बैठकले वैशाख १५ भित्र एकीकरण गर्ने टुंगो लगाएको थियो। पार्टी एकीकरण गर्न नाउपाले गंगा चौधरी र जनमतले अब्दुल खानको नेतृत्वमा कार्यदल गठन गरेका छन्।

उक्त बैठकमा कार्यदलका सबै सदस्य सहभागी थिए। नाउपाले वैशाख ७ र ८ गते केन्द्रीय समितिको बैठक बोलाएको छ। उक्त बैठकले जनमत पार्टीसँगको एकीकरण प्रक्रियालाई अनुमोदन गर्ने भएको छ।  प्रतिनिधिसभामा जनमत पार्टीबाट प्रत्यक्ष निर्वाचित एकसहित ६ सांसद छन्। त्यस्तै प्रतिनिधिसभामा नाउपाका चार सांसद छन्। 

प्रकाशित: २९ चैत्र २०८१ ०७:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App