२८ चैत्र २०८१ बिहीबार
image/svg+xml १९:५६ अपराह्न
राजनीति

तीव्र गतिको विकासका लागि देशभक्ति आवश्यक: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्याण्डको पहिलो औपचारिक भ्रमणले नेपालमा लगानी र सहकार्यका सम्भावनाका ढोका खोलेको बताएका छन्।

शनिबार गोकर्णमा आयोजित ‘एनसेन–बाह्रखरी गल्फ तथा आर्थिक सङ्गोष्ठी’मा सम्बोधन गर्दै उनले थाइल्याण्ड भ्रमण र बिम्स्टेकको छैटौँ शिखर सम्मेलनबाट फर्किएलगत्तै नेपाली र थाइ व्यवसायीबीच भएका अनुभव आदानप्रदान र सम्झौताहरू फलदायी भएको उल्लेख गरे।

प्रधानमन्त्री ओलीले देशको ४० प्रतिशत युवा जनसङ्ख्या र उपलब्ध स्रोतसाधनको सही प्रयोग गरी दक्ष जनशक्ति तयार पारेर विकासको गति तीव्र बनाउनुपर्नेमा जोड दिए।

“काम गर्न नदिने र छेक्ने मनोवृत्तिले विकास रोकिन्छ। तीव्र गतिका लागि देशभक्ति आवश्यक छ,” उनले भने, “राम्रा कानुन बनाई तिनको प्रभावकारी कार्यान्वयन हुनुपर्छ। जनता र सरकारबीचको बैरभाव अन्त्य गरी सुशासन र सेवा प्रवाहमा सुधार ल्याउन हामी प्रयासरत छौँ। थाइल्याण्ड भ्रमणले सम्भावनाका ढोका खोलेको छ।”

उनले डिजिटल नेपालको अवधारणा कार्यान्वयनमा ल्याएको स्मरण गर्दै सूचना प्रविधिको प्रयोगबाट दक्ष र रोजगारमूलक जनशक्ति वृद्धि गरी आर्थिक लाभ लिनुपर्नेमा जोड दिए।

कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले हालै संसद्बाट पारित सूचना प्रविधिसम्बन्धी विधेयकले उत्पादन र उत्पादकत्व वृद्धिको आधार तय गरेको उल्लेख गरे। उनले सूचना प्रविधिको व्यापकताबाट आर्थिक समृद्धिमा लाग्नुपर्नेमा जोड दिए।

प्रकाशित: २३ चैत्र २०८१ १७:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App