प्रधानमन्त्री केपी शर्मा ओलीले यही अप्रिलको अन्तिम साता भारत भ्रमण गर्ने सम्भावना बढेको छ। परराष्ट्र मन्त्रालय उच्च स्रोतका अनुसार अप्रिल २५ देखि २७ तारिखसम्म उक्त भ्रमण हुन सक्ने सम्भावना बढेर गएको हो।
परराष्ट्र मन्त्रालयले अप्रिल २५ देखि २७ तारिखसम्म प्रधानमन्त्री ओलीको भारत भ्रमणका लागि मिति प्रस्ताव गरिएको तर मिति तय हुन भने बाँकी रहेको जनाएको छ। मन्त्रालयका अनुसार बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) कोे छैटौं शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली थाइल्यान्डको बैंकक जानुअघि उक्त मिति प्रस्ताव गरिएको थियो।
ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच शुक्रबार बैंककस्थित होटल माडारिन ओरियन्टलमा भएको भेटवार्तामा नेपालद्वारा प्रस्तावित मितिलाई भारतको आन्तरिक पात्रोका आधारमा आपसी सहमतिमै टुंगो लगाउने गरी छलफल भएको परराष्ट्र स्रोतले जनाएको छ। ओलीले भेटघाटका क्रममा मोदीलाई सगरमाथा संवादका लागि प्रमुख अतिथिका रूपमा नेपाल भ्रमणको निम्तो दिएका छन्।
सोही क्रममा मोदीले पनि भारत भ्रमणका लागि ओलीलाई निम्तो गरेका हुन्। उनीहरूबिच एक्लाएक्लै ४५ मिनेट कुराकानी भएको थियो।
सम्भवतः प्रधानमन्त्री ओली स्वदेश फर्किएको एकाध दिनमै भारतले उनलाई भ्रमणका लागि निम्तो पठाउने परराष्ट्र उच्च स्रोतले जनाएको छ। त्यसक्रममा उनीहरूबिच नेपाल–भारत द्विपक्षीय सम्बन्धका विभिन्न पक्षबारे छलफल भएको जनाइएको छ।
बिम्स्टेकको सम्मेलन सकिएपछि दुवै नेताबिच भेट भएको हो। ओलीले भारतीय समकक्षी मोदीसँगको भेटवार्ता आत्मीय र सौहार्दपूर्ण रहेको बताएका छन्। प्रधानमन्त्री ओलीले भारतका प्रधानमन्त्री मोदीसँग भएको भेटवार्ता सार्थक र रचनात्मक रहेको पनि बताएका छन्।
‘हामीले नेपाल–भारत सम्बन्धका विभिन्न पक्षमा छलफल गर्यौं’, भेटपछि प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘बिम्स्टेक शिखर सम्मेलनले उठान गरेका मुद्दाका साथै दुई देशीय सम्बन्ध र क्षेत्रीय सहकार्यलाई अगाडि बढाउन नयाँ साझेदारीका लागि यो संवाद महत्त्वपूर्ण हुनेछ।’
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले नेपालसँगको सम्बन्धलाई ठुलो प्राथमिकतामा राखेको बताएका छन्।
ओलीसँग भेटेपछि मोदीले सामाजिक सञ्जाल फेसबुकमा नेपालीमै लेखेका छन्, ‘बैंककमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग फलदायी भेट भयो। भारतले नेपालसँगको सम्बन्धलाई ठुलो प्राथमिकता दिएको छ। हामीले भारत–नेपाल मित्रताका विभिन्न पक्ष विशेषगरी ऊर्जा, कनेक्टिभिटी, संस्कृति र डिजिटलजस्ता क्षेत्रमा छलफल गर्यौं।’
मोदीले बिम्स्टेक शिखर सम्मेलनबाट प्राप्त केही प्रमुख सकारात्मक परिणाम विशेषगरी विपद् व्यवस्थापन र समुद्री यातायात क्षेत्रमा पनि कुरा गरेको उल्लेख गरेका छन्।
ओलीले भने नेपाली, अंग्रेजी र हिन्दीभाषामा लेखेर मोदीसँगको भेट ‘सार्थक र सकारात्मक’ रहेको उल्लेख गरेका छन्। ‘मेरा प्रिय मित्र, प्रधानमन्त्री श्री नरेन्द्र मोदीजीसँग आत्मीय र सौहार्दपूर्ण भेट भयो। हाम्रो वार्ता अत्यन्त सार्थक र सकारात्मक रह्यो। यस आत्मीय भेटवार्ताप्रति म खुसी व्यक्त गर्छु।’
प्रधानमन्त्री ओली सम्मेलनमा भाग लिन र थाइल्यान्डको औपचारिक भ्रमणका लागि मंगलबार त्यसतर्फ गएका हुन्। उनले आफ्ना थाई समकक्षी पे थोङ् थान् सिनावात्रासँग पनि भेटवार्ता गरे।
प्रकाशित: २३ चैत्र २०८१ ०५:४२ शनिबार