राप्रपा नेपालका अध्यक्ष कमल थापाले सरकारलाई जबरजस्ती नगर्न चेतावनी दिएका छन्।
राप्रपा नेता बसन्तमान सिंह अधिकारीको १३औं दिनको पुण्यतिथिमा बिहीबार (आज) काठमाडौंमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष थापाले यस्तो बताएका हुन्।
'बढ्ता जोर-जबरजस्ती गर्न नखोजियोस्,' उनले भने, 'त्यसो गरिए त्यो सरकारका लागि पनि महङ्गो पर्नेवाला छ।'
उनले हिन्दूराष्ट्रको मान्यता र राजसंस्थासहितको प्रजातन्त्रको लागि राष्ट्रवादीहरू एक ठाउँमा उभिनुको विकल्प नरहेको पनि बताए।
'म देशभरका राष्ट्रवादी साथीहरूलाई आग्रह गर्न चाहन्छु- अहिले जसरी राजालाई बदनाम गर्ने, झुटा आरोप लगाउने, हिन्दूराष्ट्रको मान्यता र राजसंस्थासहितको प्रजातन्त्रको विचारलाई निषेध गर्ने, समाम्त पार्ने प्रयास भइरहेको छ, त्यसबाट सजक भएर आफ्नो आस्था र विचारको प्रतिरक्षाको निम्ति सबै राष्ट्रवादीहरू एक ठाउँमा उभिनु बाहेक अर्को विकल्प छैन,' उनले भने।
अध्यक्ष थापाले थुनामा रहेका राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणालगायतका नेताहरूको शीघ्र रिहाइको मागसमेत गरेका छन्।
प्रकाशित: २१ चैत्र २०८१ १९:१९ बिहीबार