२५ चैत्र २०८१ सोमबार
image/svg+xml ६:३३ पूर्वाह्न
राजनीति

पार्टी धेरै फेरिए पनि विचार फेरिएन: डा. भट्टराई

पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो विचार यात्रा नफेरिएको बताएका छन्। उनले गन्तव्य नै मुख्य कुरा भएको र बाटो परिस्थितिअनुसार परिवर्तन भएको मात्रै भएको स्पष्ट पारे।

बुधबार नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘फ्रन्टलाइन’ मा बोल्दै डा. भट्टराईले यस्तो धारणा राखेका हुन्। नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइँटेलले सोधेको प्रश्न, “तपाईं आधा दर्जन दलमा आबद्ध भइसक्नुभयो, यति धेरै पार्टीमा संलग्न हुनुको कारण विचारको गति हो कि परिस्थिति?” को जवाफमा उनले आफ्नो राजनीतिक यात्राको आधार प्रष्ट्याए।

“वि.सं. २०३३/३४ देखि देश किन पछाडि पर्‍यो भनेर विचार गर्दा, राज्य व्यवस्था परिवर्तन गरी गणतन्त्र र आधुनिक विज्ञानमा गएका देशहरू विकसित भएको निष्कर्ष निकालेँ। सामन्तवादी र राजतन्त्रात्मक प्रणाली अँगालेका देशहरू पछाडि परे। त्यसैले २०३५ सालदेखि राजतन्त्रको अन्त्य र गणतन्त्रका लागि लागेँ,” उनले भने।

डा. भट्टराईले वि.सं. २०७२ असोज ३ मा संविधान जारी नहुँदासम्म संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनालाई आफ्नो पहिलो यात्राको लक्ष्य बनाएको बताए।

संविधान जारी भएपछि भने नेपालको समृद्धि र विकासका लागि नयाँ ढंगले राजनीति गर्नुपर्ने आवश्यकता महसुस भएको उल्लेख गर्दै उनले भने, “त्यसयता नयाँ शक्ति र अन्य रूपहरू त्यही अभियानका अंग हुन्। २०७२ पछिको नेपालको मूल समस्या र समाधानका उपायहरू उही छन्। बाटो फेरिएको छैन, मौसमअनुसार लुगा फेरिएको हो। विचार यात्रा फेरिएको छैन, गन्तव्य नै मुख्य हो।”

उनले नेपाल गरिबी, श्रम निर्यात र परनिर्भरताको अभिशापबाट मुक्त हुनुपर्नेमा जोड दिँदै आफ्नो जीवनको दोस्रो अभियान नेपाललाई समृद्ध बनाउने रहेको बताए।

“हाम्रै जीवनकालमा नेपाललाई समृद्ध बनाउनुपर्छ। समयअनुसार बाटोमा केही बाङ्गोटिङ्गो भएको मात्र हो,” उनले थपे।

प्रकाशित: २० चैत्र २०८१ १९:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App