नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई पुनर्बहाली गर्न माग गर्दै उदयपुर सदरमुकाम गाईघाटमा बुधबार दिउँसो युवा तथा विद्यार्थी संगठनहरूले विरोध प्रदर्शन गरेका छन्।
योङ कम्युनिस्ट लिग (वाईसिएल) नेपाल र अनेरास्ववियु (क्रान्तिकारी) को आयोजनामा भएको प्रदर्शनमा सहभागीहरूले सरकारको निर्णयको विरोध गर्दै कुलमान घिसिङलाई पुनर्बहाली गर्न माग गरेका थिए। वाईसिएल नेपाल र अनेरास्ववियु (क्रान्तिकारी) क्रमशः नेकपा (माओवादी केन्द्र) का युवा र विद्यार्थी संगठन हुन्।
त्रियुगा नगरपालिका–१२, डिएमगेटस्थित होटल टाउनहलमा भेला भएका प्रदर्शनकारीहरूले हातमा राष्ट्रिय झन्डा, माओवादी झन्डा, प्लेकार्ड र व्यानर बोकेर गाईघाट बजार परिक्रमा गरेका थिए। उनीहरूले ‘उज्यालोका नायक कुलमानलाई हटाएर सरकारले जग हँसाएको छ’ भन्दै सरकारको विरोध गरेका थिए।
प्रदर्शनकारीहरूले कुलमान घिसिङले खर्बौँ घाटामा गएको नेपाल विद्युत् प्राधिकरणलाई नाफामा पुर्याएको उल्लेख गर्दै सरकारलाई दलाल र विचौलियाको हितमा काम गरेको आरोप लगाए।
साथै, प्रधानमन्त्री केपी शर्मा ओली र ऊर्जामन्त्री दीपक खड्काको राजीनामा माग गर्दै पुनर्बहाली नभए थप सशक्त आन्दोलन गर्ने चेतावनी दिए।
बजार परिक्रमापछि पिपलचोक (लोकतान्त्रिक चोक) मा आयोजित कोणसभामा प्रदेशसभा सांसद सम्झना पाख्रिन, माओवादी नेताहरू तथा जनवर्गीय संगठनका अगुवाहरूले सम्बोधन गर्दै कुलमानलाई हटाएर सरकारले देशलाई पुनः अन्धकारतर्फ धकेलेको आरोप लगाए।
त्यस्तै, कटारी, चौदण्डीगढी, बेलका लगायत जिल्लाका विभिन्न स्थानमा पनि बुधबार दिउँसोदेखि साँझसम्म वाईसिएल र अनेरास्ववियु (क्रान्तिकारी) का कार्यकर्ताहरूले सरकारविरुद्ध प्रदर्शन गरेका छन्।
स्वतन्त्र नागरिक अगुवाहरूले पनि बुधबार साँझ गाईघाटको पिपलचोकमा सामूहिक रूपमा मैनबत्ती बालेर कुलमान हटाइएको विरोध गरे।
उनीहरूले कुलमान घिसिङलाई ‘उज्यालोका नायक’ भन्दै १८ घण्टे लोडसेडिङ अन्त्य गरेर विद्युत् प्राधिकरणलाई नाफामा पुर्याएका व्यक्तिलाई हटाउनु दुःखद भएको बताए।
प्रकाशित: १३ चैत्र २०८१ २१:१२ बुधबार