बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुस चीन भ्रमण सकेर शनिबार स्वदेश फिर्ता भएका छन्। उनले चीनलाई ‘असल मित्र’ मान्नु आफ्नो देशका लागि ‘महत्त्वपूर्ण’ भएको बताएका छन्।
चीन भ्रमणमा रहँदा चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वासँगको विशेष अन्तर्वार्तामा उनले भने, ‘हाम्रो सम्बन्ध वर्षौंदेखि बलियो छ। व्यापार मजबुत छ र चीनसँगको सहकार्यबाट हामीलाई फाइदा पुग्छ।’ उनले दुई देशबीचको सम्बन्ध नयाँ चरणमा प्रवेश गर्ने अपेक्षा गरे।
‘चीनको प्रगतिबाट बंगलादेशमा सबैजना प्रेरित छन्,’ युनुसले भने। उनले अन्तरिम सरकारको लक्ष्य नयाँ बंगलादेश बनाउनु भएको उल्लेख गर्दै चीनको विकास अनुभवबाट सिक्न सकिने बताएका छन्। चीनको गरिबी निवारणबारे उनले भने, ‘धेरै देश जीडीपी बढाउनमा केन्द्रित हुन्छन्, तर चीनले कम आय भएका समूहमा ध्यान दिएको छ, जसले गरिबी छिटो घटाउन सफलता मिल्यो।’
यो भनाइ उनले चीन भ्रमणका क्रममा चिनियाँ कम्पनीहरूलाई टिस्टा नदी परियोजनामा सहभागी हुन आह्वान गरेको सन्दर्भमा आएको हो। यो कदमलाई धेरै विश्लेषकले भारतका लागि झट्का मानेका छन्। टिस्टा परियोजना लामो समयदेखि भारत र बंगलादेशबीच विवादको विषय बनेको छ। गत वर्ष अगस्टमा शेख हसिनाको सरकार पतनपछि दुई देशबीचको सम्बन्ध तनावपूर्ण बन्दै गएको छ।
बंगलादेश र चीनबीचको व्यापार र आर्थिक सहयोग पछिल्ला वर्षमा निकै बढेको छ। चीन १५ वर्षदेखि बंगलादेशको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो। हाल बंगलादेशमा करिब एक हजार चिनियाँ उद्योग छन्, जसले झण्डै ६ लाख रोजगारी सिर्जना गरेका छन्। ‘चीनबाट हाम्रो आयात बढिरहेको छ। औद्योगिक सामग्रीको ठूलो हिस्सा चीनबाटै आउँछ,’ युनुसले भने।
भविष्यको कुरा गर्दै उनले भने, ‘म चाहन्छु कि धेरै चिनियाँ लगानीकर्ता बंगलादेश आएर स्थानीय साझेदारसँग बजार विस्तार गरून्।’ हालै बंगलादेशी बिरामी, डाक्टर र ट्राभल एजेन्सीको समूह चिकित्सा पर्यटनका लागि चीनको युनान प्रान्तको कुनमिङ गएको थियो। ‘चीनबाट सिकेर हामी राम्रो स्वास्थ्य सेवा बनाउन सक्छौं,’ उनले थपे।
यो वर्ष चीन र बंगलादेशबीच कूटनीतिक सम्बन्धको ५० औं वार्षिकोत्सव हो। ‘चीनसँगको सहकार्यले हामीलाई फाइदा पुग्छ। हामी द्रुत विकास हुने मात्र होइन, सबैको सहभागिता भएको नयाँ अर्थतन्त्र पनि बनाउन सक्छौं,’ उनले भने। ‘हाम्रो सहकार्य अर्थतन्त्रमा मात्र सीमित नभई सांस्कृतिक पनि हुनेछ।’ ‘विगत ५० वर्षको सम्बन्ध रोमाञ्चक रह्यो, आगामी ५० वर्ष झन् रोमाञ्चक हुनेछ,’ उनले जोड दिए। चीनसँग विभिन्न क्षेत्रमा सहयोगको अपेक्षा गरेका उनले साझा लक्ष्य हासिल गर्न सँगै यात्रा गर्न चाहेको उल्लेख गरे। सिन्हवा
प्रकाशित: १७ चैत्र २०८१ ११:२७ आइतबार