२४ चैत्र २०८१ आइतबार
image/svg+xml १७:५९ अपराह्न
अर्थ

मुख्य सिजनमै पर्यटक आगमन कमजोर

अघिल्लो भन्दा योपटक मार्चमा ५ प्रतिशत आगमन घट्यो

विदेशी पर्यटक भित्रिने मुख्य सिजमै यो पटक नेपालमा हवाई माध्यमबाट भित्रिने विदेशी पर्यटक आगमनमा गिरावट आएको छ। नेपालमा मार्च देखि मे सम्म पर्यटनको मुख्य सिजन मानिन्छ। हिमाल आरोहण र पदयात्राका कारण यो बेला विदेशी पर्यटक नेपाल आउन चाहन्छन्।  

पर्यटन बोर्डका अनुसार यो पटक मार्च महिनामा अघिल्लो मार्चको तुलनामा आगमन खस्केको छ। बोर्डका पोखरास्थित निर्देशक मणिराज लामिछानेका अनुसार यो पटक मार्चमा नेपालमा १ लाख २१ हजार ६ सय ८७ जना विदेशी पर्यटक भित्रिएका छन। अघिल्लो वर्ष (सन् २०२४) को मार्चमा १ लाख २८ हजार १ सय ६७ जना विदेशी पाहुना नेपाल भित्रिएको लामिछानेले बताए।  

‘अघिल्लो वर्षको तुलनामा यो पटक सिजनमै पनि पर्यटक आगमन खस्केको छ,’ लामिछानेले भने, ‘पाहुना भित्रिने एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको संचालन समय कटौती हुँदा त्यसको असर अन्तर्राष्ट्रिय हवाई उडानमा पर्दा आगमन प्रभावित भएको हो।’ उनका अनुसार सन् २०२४ को मार्चको तुलनामा योपटक मार्चमा ५ प्रतिशत हाराहारीमा विदेशी पाहुनाको आगमन खस्केको छ।  

‘अन्तर्राष्ट्रिय विमानस्थल संचालन अवधि कटौती भयो । त्यसले गर्दा हवाई कम्पनिको उडान संख्यामा पनि असर परेको हो। उडान संख्या कटौती भएसँगै हवाई भाडा अधिक भयो,’ उनले भने, ‘नेपालसम्मको हवाई भाडा महंगो परेकै कारणले विदेशी पाहुना आउन सकेनन्, अझै पनि हवाई भाडा महंगो नै छ।’ 

अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल संचालन अवधि १८ घण्टा पुगेको भएपनि तत्कालै हवाई भाडा घट्ने सम्भावना नरहेकोल पाहुना आगमनमा अझै प्रभाव पर्न सक्ने उनले बताए।  

‘महंगो हवाई भाडाले गन्तव्यसम्मको यात्रालाई नै भार बोकायो । त्यसले गर्दा पाहुना आगमनमा कटौती भएको हो। हवाई भाडा अधिक बढेको छ,’ उनले भने। पछिल्लो महिना चिनियाँ पाहुना आगमनमा केही सुधार देखिएपनि भारतीय र अरु मुलुकका पाहुना आगमनमा उत्तिसारो सुधार नभएको उनले बताए। नेपालमा सबैभन्दा बढी विदेशी पाहुना भित्रिएको वर्ष २०१९ को मार्चलाई समेत उछिनेर २०२४ मार्चमा विदेशी पाहुनाको आगमनले नयाँ रेकर्ड कायम गरेको थियो। तर, योपटक आगमन महंगो पर्दा विदेशी पाहुनाको आकार खस्किएको लामिछानेले बताए।  

नेपालमा सन् २०२३ मार्चमा ९९ हजार ४ सय २६ जना विदेशी पाहुना भित्रिएका थिए। त्यो संख्या २०२२ मा ४२ हजार १ सय ५२ थियो। २०२१ को मार्चमा भने १५ हजार २ सय ५४ जना विदेशी पाहुना नेपाल भित्रिएका थिए। कोरोना भाइरस संक्रमणको प्रभावले गर्दा सन् २०२० मार्चपछि पाहुना आगमनमा प्रभाव पर्न थालेको थियो। २०२० को मार्चमा ४२ हजार ७ सय ७६ जना विदेशी पाहुना नेपाल भित्रिएका थिए। सन् २०१९ मा नेपालमा १ सय २७ हजार ३ सय ५१ जना विदेशी पाहुना नेपाल भित्रिएका थिए।  

पर्यटन व्यावसायी पनि पर्यटक भित्रिने सिजनमा जुन आकार लिनुपर्ने हो, त्यो हुन नसकेको भन्दै चिन्ता जनाउँछन्। पोखरास्थित होटल ल्याण्डमार्कका संचालक ओम पाण्डे भन्छन, ‘६५ प्रतिशत हाराहारीमा अकुपेन्सी छ। यो सिजनमा कम्तिमा ८० प्रतिशत हुनुपर्ने हो। तर, सोचे अनुरुप आगमन हुन सकेन।‘ पछिल्लो समय चिनियाँ सहरमा पोखराले पर्यटन प्रर्वद्धन गरेको र पोखराबाट सिधा हवाई सेवा पनि बिस्तार भएकोले आगमन बढ्नेमा आफुहरु आशावादी रहेको पाण्डेले बताए।  

मार्चमा बढी पर्यटक भित्रिने १० मुलुक  

योपटक मार्चमा अघिल्ला महिनामा जस्तै सबैभन्दा बढी भारतीय पाहुना हवाई माध्यमबाट नेपाल भित्रिएका छन्। मार्चमा २१ हजार ४ सय १२ जना भारतीय पाहुना नेपाल आएका छन्। नेपाल भित्रिएका विदेशी पाहुना मध्ये झन्डै १८ प्रतिशत हिस्सा भारतीय पाहुनाले ओगटेका छन। त्यस्तै दोश्रो नम्बरमा चिनियाँको संख्या रहेको छ। यो मार्चमा नेपालमा ११ हजार ४ सय ४३ जना चिनियाँ (९.४१ प्रतिशत) भित्रिएका थिए।  

तेश्रो नम्बरमा अमेरिकी पाहुनाको संख्या ११ हजार ९२ रहेको छ । त्यस्तै चौथो नम्बरमा श्रीलंकाका ८ हजार ८ सय ८६ जना पाहुना नेपाल भित्रिए। पाँचौ नम्बरमा रहेको बेलायतका ५ हजार ९ सय ९५ जना पाहुना भित्रिएका छन्। छैठौ नम्बरमा थाइल्याण्डका ४ हजार ९ सय ८६ जना र सातौ नम्बरमा जर्मनीका ४ हजार ७ सय ९ जना पाहुना भित्रिएका छन्। आठौ नम्बरमा अस्ट्रेलियाका ४ हजार २ सय २८, नवौं नम्बरमा म्यानमारका ३ हजार ७ सय ५४ जना पाहुना भित्रिएका छन्। दशौं नम्बरमा बंगलादेशका ३ हजार ५ सय ७६ जना पाहुना नेपाल भित्रिएको पनि बोर्डले बताएको छ।  

प्रकाशित: २० चैत्र २०८१ १८:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App