निजी सम्पत्ति तथा सञ्चारगृहमा भएको तोडफोड, आगजनी र व्यावसायिक प्रतिष्ठानमा भएको लुटपाटको घटनाको निजी क्षेत्रका संस्थाहरूले निन्दा गरेका छन्।
नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले शुक्रबार भएको राजावादीको आन्दोलनबाट भएको जनधनको नोक्सानीमा क्षतिपूर्ति भराउन माग गरेको छ।
महासंघले शनिबार एक प्रेस विज्ञप्ति जारी गरेर सर्वसाधारणको निजी जायजेथा, मिडिया हाउस, व्यावसायिक प्रतिष्ठानहरूको सम्पत्ति, कार्यालय र अन्य व्यापारिक गतिविधिहरूमा आक्रमण, आगजनी, लुटपाट लगायतका हिंस्रक घटनाबाट ठूलो क्षति पुगेकोमा यसको भत्र्सना गर्दै क्षतिपूर्ति हुनुपर्ने माग राखेको छ।
संविधान प्रदत्त अधिकारभित्र रहेर आफ्ना माग राख्न पाइए पनि हिंस्रक आन्दोलन एवं प्रदर्शनका साथै लुटपाट, आगजनी, धनजनको क्षति र व्यक्तिगत सम्पत्तिमाथिको आक्रमण निन्दनीय भएको महासंघले विज्ञप्तिमार्फत उल्लेख गरेको छ।
कुनै पनि स्वरूपमा हुने यस प्रकारका घटनाप्रति नेपाल उद्योग वाणिज्य महासंघ घोर निन्दा र भत्र्सना गर्दछ। साथै महासंघ सार्वजनिक सुरक्षा सुनिश्चित गर्न र यस्ता घटनाहरूको पुनरावृत्ति रोक्न सम्बन्धित सबैमा आग्रह गरेको छ।
‘विभिन्न माग राखी हुने गरेका आन्दोलन/प्रदर्शन र त्यसबाट सर्वसाधारण एवं उद्यमी व्यवसायीको पेशा व्यवसाय गर्न पाउने नैसर्गिक अधिकार हनन् हुनुका साथै निजी तथा सार्वजनिक सम्पत्तिमाथि हुने गरेको आक्रमण, लुटपाट, आगजनी लगायत गतिविधिहरू प्रति नेपाल उद्योग वाणिज्य महासंघको गम्भीर ध्यानाकर्षण भएको छ, महासंघले भनेको छ।
आन्दोलन/प्रदर्शनका क्रममा मानवीय क्षतिसँगै धनजनमा भएको आक्रमणप्रति महासंघले दुःख व्यक्त गरेको छ। आन्दोलन/प्रदर्शनका क्रममा ज्यान गुमाएकाहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पणसहित परिवारजनमा समवेदना व्यक्त गर्दै घाइते सबैको स्वास्थ्य लाभको कामना पनि महासंघले गरेको छ।
विभिन्न माग राखी आन्दोलन, प्रदर्शन गर्दा आम सर्वसाधारण, विभिन्न पेशा, व्यवसायमाथि भौतिक आक्रमण, व्यक्तिगत सम्पत्तिमाथि आगजनी, व्यवसायिक प्रतिष्ठानमा तोडफोड एवं लुटपाट जस्ता कार्य जहिले पनि निन्दनीय छ।
निजी तथा सार्वजनिक सम्पत्तिमा तोडफोड तथा आगजनी, लुटपाट जस्ता अराजक गतिविधि गर्नेलाई कानुनी दायरामा ल्याई सुरक्षित रूपमा व्यापार, व्यवसाय, पेशा गर्न पाउने अधिकारलाई सुरक्षित बनाउन परिसंघ माग गर्दछ। साथै यस प्रकारका घटना दोहोरिन नदिन परिसंघ सम्बन्धित सबैमा अपिल समेत गर्दछ।
विभिन्न माग राखी आन्दोलन, प्रदर्शन गर्न पाउने अधिकार सुरक्षित भए तापनि यस्ता कार्यले अरू कसैको अधिकार हनन् गर्न हुँदैन भन्नेतर्फ समेत सचेत हुन सम्बन्धित सबैलाई परिसंघ आग्रह गर्दछ।
परिसंघ शुक्रबारको घटनामा परी निधन हुनुभएका व्यक्तिहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ।
प्रकाशित: १७ चैत्र २०८१ १०:५९ आइतबार