घाम अझै डाँडामाथि नउक्लिँदै जुम्लाका बस्ती सेताम्मे देखिन्छन्। आँगन, बाटो र छानाहरू हिउँले ढाकिएका छन्। चिसोले हातखुट्टा कठ्याङ्ग्रिएका छन्, सासबाट निस्किने वाफ हावामै हराउँछ। शनिबार रातिदेखि परेको हिउँले जनजीवन प्रभावित बनेको छ।
तर यही कठ्याङ्ग्रिने चिसोका बीच केही मानिसहरू झोला बोकेर, बाक्ला लुगा र मफलर बेरेर गाउँतिर लागिरहेका छन्। उनीहरू पर्यटक होइनन्, चुनावी उम्मेदवार हुन्। मतको खोजीमा उनीहरू घरदैलो अभियानमा जुटेका छन्।
प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा जुम्लामा मौसमले राजनीति रोक्न सकेको छैन। आगामी फागुन २१ गते निर्वाचन तोकिएको छ। हिमपातले जनजीवन प्रभावित भए पनि चुनावी गतिविधि भने झन् सक्रिय बन्दै गएको छ।
जुम्लाको चन्दननाथ नगरपालिका हुँदै तिला, तातोपानी, गुठिचौर, हिमा, पातारासी, कनकासुन्दरी र सिँजा गाउँपालिकासम्म उम्मेदवारहरू मतदाताको ढोका ढकढक्याइरहेका छन्। हिउँले चिप्लिएका गोरेटो, उकालो–ओरालो बाटो र चिसो हावा घरदैलो अभियानका ठूला चुनौती बनेका छन्। कतिपय स्थानमा सवारी साधन चल्न नसकेपछि उम्मेदवारहरू पैदलै हिँडिरहेका छन्।
नेपाली कम्युनिस्ट पार्टीका जुम्ला उम्मेदवार नरेश भण्डारी भन्छन्, ‘चिसो भए पनि घरदैलो रोकिएको छैन।’ उनका अनुसार चन्दननाथ नगरपालिका, सदरमुकाम खलंगाबाट सुरु भएको अभियान गुठिचौर गाउँपालिका–३ गर्ज्याङकोटसम्म पुगेको छ। ‘मतदाताका प्रतिक्रिया र सुझाव सुन्दैछौँ,’ भण्डारी भन्छन्, ‘जुम्लाका जनताको आशा र भरोसा हामीसँग छ।’
मनमा आशा र बोलीमा प्रतिबद्धता बोकेर उम्मेदवारहरू बस्ती–बस्ती पुगिरहेका छन्। ‘हिउँ त हरेक वर्ष पर्छ, समस्या पनि पुरानै हो,’ घरदैलो अभियानका क्रममा भण्डारी भन्छन्, ‘अब चाहिँ समस्या समाधान गर्ने मान्छे चाहिएको हो।’
घरआँगनमा बालिएको आगो वरिपरि राजनीति चल्छ। वृद्धहरूले स्वास्थ्य सेवा र बाटोको विषय उठाउँछन्। महिलाहरू सहज उपचार र बजारको पहुँच खोज्छन्। युवाहरूको प्रश्न झन् चर्को छ,यहाँ रोजगारी कहिले?

उम्मेदवारहरू कृषि उत्पादन, स्याउको बजारीकरण, सिँचाइ, शिक्षा र रोजगारीका योजना सुनाउँछन्। कतै ताली बज्छ, कतै मौनता छ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार विनिता कठायतले जुम्लाको दुर्गम गाउँपालिका पातारासीका बस्तीबाट घरदैलो अभियान सुरु भएको बताइन्। ‘पुराना दलप्रति मतदातामा वितृष्णा देखिन्छ,’ उनी भन्छिन्।
राप्रपाका नेता ज्ञानेन्द्रबहादुर शाहीका स्वकीय सचिव गोकर्ण कठायतका अनुसार शाही हाल सिँजा र कनकासुन्दरी गाउँपालिकातिर घरदैलो अभियानमा व्यस्त छन्।
यस्तै नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाली कांग्रेस, नेमकिपा लगायतका अन्य उम्मेदवारहरू पनि घरदैलो अभियानमा सक्रिय देखिन्छन्।
‘हिउँमा पनि आएछन्, राम्रो लाग्यो,’ पातारासी गाउँपालिका–३ का हर्कबहादुर बोहोरा भन्छन्, ‘तर चुनावपछि पनि यत्तिकै आउनुपर्यो।’ उनका अनुसार जनताका कुरा सुनिदिनु आवश्यक छ। ‘कुरा र गफ गर्ने नेता होइन, जुम्लाको विकासका लागि दीर्घकालीन योजना, स्पष्ट प्लान र भिजन भएको नेतृत्व चाहिन्छ,’ उनी भन्छन्। ‘खाली हावादारी गफ गर्ने होइन, दिगो र दूरदर्शी नेता चाहिएको छ।’
यस्ता आवाज अहिले जुम्लाका धेरै बस्तीमा सुनिन थालेका छन्। मतदाताको अपेक्षा स्पष्ट छ, भाषणभन्दा काम।
जिल्ला निर्वाचन कार्यालय जुम्लाका अनुसार संवेदनशील र दुर्गम क्षेत्रमा विशेष योजना बनाएर निर्वाचन व्यवस्थापन भइरहेको छ।
हिउँले ढाकिएको जुम्ला अहिले सेतो देखिन्छ। तर त्यही सेताम्मे बस्तीभित्र राजनीति भने तातो छ। उम्मेदवारहरूको घरदैलो अभियानले चुनावी माहोललाई थप रोचक बनाएको छ। चिसो मौसमले शरीर कठ्याङ्ग्रिए पनि चुनावी आकांक्षा जमेको छैन। जुम्लामा अहिले हिउँ मात्रै परिरहेको छैन, आशा, अपेक्षा र भरोसाको परीक्षा पनि चलिरहेको छ।
प्रकाशित: ११ माघ २०८२ २१:१६ आइतबार





