लामो समयदेखि पत्रकारितामा सक्रिय रहँदै आएका ऋषि धमलाले आसन्न निर्वाचनमा आफ्नो जित सुनिश्चित रहेको दाबी गरेका छन्।
प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) बाट रौतहट क्षेत्र नम्बर-४ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका धमलाले चुनावी प्रचारप्रसारपछि काठमाडौं फर्किएर सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस्तो बताएका हुन्।
रौतहटको चुनावी माहोलबारे जानकारी दिँदै धमलाले त्यहाँका जनता परिवर्तन र नयाँ अनुहारको पक्षमा रहेको बताए।
‘रौतहटको माहोल एकदम राम्रो छ, जनता उत्साहित र खुसी छन्,’ धमलाले भने, ‘जनताले नयाँ पुस्ता र नयाँ विचार खोजेका छन्। म जनताको चाहना अनुसार काम गर्न, उत्तरदायित्व वहन गर्न र सधैं जनताको आवाज बोल्न प्रतिबद्ध छु।’
आफूलाई रौतहटबासीले अत्यधिक माया गरेको बताउँदै धमलाले आफ्नो अबको जीवन जनताकै लागि समर्पित गर्ने घोषणा गरे।
उनले भने, ‘म जनतालाई भगवानसरह मान्छु। मैले जनतासामु प्रतिबद्धता व्यक्त गरेको छु, अब मेरो सम्पूर्ण जीवन जनताको हातमा छ। जनताले जे भन्नुहुन्छ, म त्यही मान्छु।’
चुनावी प्रचारका क्रममा जेरी पकाउने, आरा चलाउने, कोदालो खन्ने जस्ता कार्य गरेर चर्चा र आलोचना दुवै खेपेका धमलाले ती कार्यहरू स्टन्ट वा अभिनय नभएको जिकिर गरे।
आलोचनाबारे सोधिएको प्रश्नमा उनले भने, ‘म यसको खण्डन गर्दिनँ। म किसानको छोरा हुँ, मैले किसान र मजदुरले गरिरहेको काम गरेको हुँ। के मैले मजदुरले गरेको काम गर्न नहुने ? म काम गर्न जन्मेको मान्छे हुँ, आवश्यक परे ट्र्याक्टर र रिक्सा पनि चलाउन सक्छु।’
उनले लोकतन्त्रमा आलोचना गर्ने छुट सबैलाई भएको भन्दै आफ्ना आलोचकहरूलाई पनि सम्मान गर्ने बताए। ‘म गलत काम गर्दिनँ, मसँग नैतिकता र इमानदारिता छ,’ उनले थपे।
धमलाले चुनाव जितेपछि पत्रकारिता पेसा पूर्ण रूपमा छोड्ने स्पष्ट पारेका छन्। ‘एउटा पेसाबाट अर्को पेसामा गएपछि म दुइटा डुङ्गामा खुट्टा राख्दिनँ, पत्रकारिता छोड्छु,’ उनले भने।
साथै, उनले आफू टुरिस्ट उम्मेदवार नभएको पुष्टि गर्न रौतहटमै बसाइँ सर्ने प्रक्रियामा रहेको समेत जानकारी दिए। उनले भने, ‘म अब काठमाडौं बस्दिनँ, अधिकांश समय रौतहटमै जनताको बीचमा बिताउनेछु।’
उनले रौतहटको शिक्षा, स्वास्थ्य र गरिबी निवारणका लागि आफूले उम्मेदवारी दिएको बताउँदै आएका छन्। धमला मोबाइल चुनाव चिन्ह लिएर चुनावी मैदानमा होमिएका छन्।
प्रकाशित: ११ माघ २०८२ २१:५४ आइतबार





