नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा आएर चित्तबुझ्दो स्पष्टीकरण नदिएसम्म संसद् चल्न नदिने स्पष्ट पारेका छन्।
संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष दाहालले प्रधानमन्त्रीले रोष्ट्रममा उभिएर जवाफ दिनुपर्नेमा जोड दिए।
उनले भने, ‘प्रधानमन्त्रीले यसलाई सहज ढंगले लिनुपर्छ। उहाँ आएर स्पष्टीकरण दिनुपर्छ। चित्तबुझ्दो स्पष्टीकरण आयो भने हाउस तुरुन्तै चल्छ। तर, स्पष्टीकरण पनि जालझेलको आयो भने हाउस चल्दैन।’
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको विषयमा प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रसहित विपक्षी दलहरूले संसद् अवरुद्ध गरिरहेका छन्।
सोही विषयमा प्रधानमन्त्रीले स्पष्ट र चित्तबुझ्दो जवाफ नदिएसम्म संसद् चल्न नदिने दाहालको चेतावनी छ।
प्रकाशित: १३ चैत्र २०८१ १५:४५ बुधबार