मोरङको बेलबारीमा रहेकाे प्रशान्त हाेटलमा तास खेल्दै गरेका आठ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ।
बेलबारी नगरपालिका–१० भाउन्नेमा सन्तोष याक्खाले सञ्चालन गरेको प्रशान्त होटलमा सञ्चालित तासको खाल (तासको अड्डा)मा शनिबार साँझ पाैने ७ बजेतिर छापा हानेको माेरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले जानकारी दिए।
उनका अनुसार तास खेलिरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर कृष्णबहादुर खत्री नेतृत्वको टोलीले होटलको ताल खालमा छापा हानेर ८ जनालाई पक्राउ गरेको बताए।
पक्राउ पर्नेमा बेलबारी–१० का ४७ वर्षीय विष्णुकुमार दर्जी, ४० वर्षीय कमल डोटेल, ४५ वर्षीय बद्री विष्ट, ३५ वर्षीय सुमन भण्डारी, ५३ वर्षीय पदमबहादुर भण्डारी, ५८ वर्षीय दिलबहादुर तामाङ, ३९ वर्षीय लिलम लिम्बू र ४५ वर्षीय विश्वकुमार याक्खा छन्।
पक्राउ परेकाको साथबाट १ लाख ५ हजार ८० रुपैयाँ नगद र ८ बुक तास बरामद गरिएको छ। होटल सञ्चालक सन्तोष याक्खा फरार भएको प्रहरीले जनाएको छ।
फरार रहेका याक्खाको खोजी भइरहेको छ भने पक्राउ परेकाहरूलाई इलाका प्रहरी कार्यालय बेलबारीको हिरासतमा राखेर थप अनुसन्धानअघि बढाएकाे प्रहरीले जनाएको छ।
प्रकाशित: १७ चैत्र २०८१ १०:२२ आइतबार